Headline

बागमतीको सशक्त प्रदर्शन, सुदुरपश्चिम १ सय ८० रनले पराजित

Published

on

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा अलराउण्ड प्रदर्शन गर्दै लगातार दोश्रो जित हात पारेको छ ।

बागमतीले सोमबार त्रिवी मैदानमा सुदुर पश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो ब्याटिङ्ग गरेको बागमतीले पुर्व अण्डर १९ कप्तान तथा राष्ट्रिय खेलाडी पृथु बास्कोटाको उत्कृष्ट इनिङ्गसको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाई २ सय ९९ रनको बिशाल योगफल खडा गर्यो ।

रामनरेश गिरीले आफ्नो पहिलो चार ओभरको स्पेलमा घातक बलिङ्ग गर्दै चार विकेट लिएपछि चार रनमै पाँच विकेट गुमाएको सुदुरपश्चिमले २१ ओभरमा १ सय १९ रनमात्रै बनाउन सक्यो । सुदुरपश्चिमले पहिलो चार विकेट मात्रै एक रनमा गुमाएपछि उ शुरु देखि नै दवाबमा आएको थियो ।

अर्जुन साउद र किरण ठगुन्ना (२४) ले ५९ रनको साझेदारी गर्दै केही सम्हाल्ने प्रयास गरेपनि नन्दन यादवले एकै ओभरमा दुई विकेट लिदै सुदुरपश्चिमको पुनरागमनको ढोका बन्द गरिदिएका थिए । अर्जुनले २८ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३१ रन बनाए ।

६३ रनमा ७ विकेट गुमाएको स्थितिमा नारायण जोशीले केही आक्रमक ब्याटिङ्ग गर्दै सुदुरपश्चिमका लागि तीन अंकको स्कोर नघाएका थिए । पाँच छक्का र एक चौका प्रहार गरेका नारायण २९ बलमा ४४ रन प्रहार गर्दै नटआउट रहे ।

रामनरेशले पाँच ओभरमा ३२ रन खर्चदै चार विकेट लिए ।

यसअघि पारस खड्का (२०) र आकाश थापा (१३) लाई ६० रनको अवस्थामा गुमाएको बागमतीलाई पृथु र अर्का ओपनर आदिल खानले १ सय ९ रनको शान्दार साझेदारी गर्दै इनिङ्गस सम्हालेका थिए ।

 

सम्हालिएर ब्याटिङ्ग गरेका आदिलले ८६ बलमा ६३ रन बनाउदा १० चौका प्रहार गरेका थिए । पृथुले त्यसपछि इशान पाण्डेसँग ३९ रनको साझेदारी गरेका थिए । यो प्रतियोगितामा निकै सकारात्मक बडी ल्याङ्गवेजमा देखिएका पृथुले ९४ बलमा ८४ रन बनाएका थिए । उनले १० चौका र दुई छक्का प्रहार गरे ।

पृथुले आइतबार पुलिसबिरुद्धको खेलमा पनि नटआउट ४८ रन बनाएका थिए । २ सय ११ रनमा पाँच विकेट गुमाएको बागमतीलाई त्यसपछि ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले ६२ रनको साझेदारी गर्दै ३ सय नजिक पगेका थिए । दुवै जनाले समान ३२ रन बनाएका थिए ।

नारायणले तीन विकेट पनि लिएका थिए भने भोज राज भट्ट र सन्तोष भट्टले २–२ विकेट हात पारे ।

Click to comment

Trending