Headline

गण्डकीको प्रधानमन्त्री कपमा पहिलो जित

Published

on

गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि दुई विकेटको संघर्षपूर्ण जित हात पारेको छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ९८ रनले पराजित भएको गण्डकीको प्रतियोगितामा यो पहिलो जित हो ।

बिशाल पौडेलले ह्याट्रिक सहित चार र सुभाष भण्डारीले पनि चार विकेट लिएपछि गण्डकी १ सय २ रनमै समेटिएको थियो । पहिलो दुई विकेट तीन रनमै गुमाएपछि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय साझेदारी गरेपछि सम्हालिएको गण्डकीले ८ विकेटको क्षतिमा ३७ औं ओभरमा लक्ष्य प्राप्त गरेको थियो ।

आर्मीबिरुद्ध पनि संयमित खेल खेल्दै ३६ रन बनाइ वाह वाही लुटेका अर्जुनले सोमबार पनि ३५ रन बनाएका थिए । ६८ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । दिपकले पनि ९४ बलमा चार चौकाको मद्दतमा ३५ रन बनाए । तल्लो क्रम चल्न नसकेपछि अभिषेक थापाले १३ रन बनाउदै टिमलाई जित दिलाएका थिए ।

प्रदेश १ को यो लगातार दोश्रो हार हो । उसले पहिलो खेलमा पनि एपिफसँग १ सय ८ रनमै समेटिएको थियो । सात जना अण्डर २१ का खेलाडीहरु रहेको गण्डकीबिरुद्ध प्रदेश १ ३० ओभर पनि टिक्न सकेन ।

बिशालले २८ औं ओभरको दोश्रो, तेश्रो र चौथो बलमा ह्याट्रिक लिएपछि प्रदेश १ प्रतियोगिताकै न्युनतम योगफलमा समेटिएको हो । यस्तै कप्तान बिपिन क्षेत्रीले दुई विकेट लिएका थिए ।

प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाएका थिए । ३१ बलको सामना गरेका उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । ओपनर मिनास थापाले ३४ बलमा २२ रन बनाए ।

Click to comment

Trending