Headline

अनिलको आकर्षक इनिङ्गसमा आर्मीको लगातार दोश्रो जित

Published

on

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा आर्मीले कर्णाली प्रदेशलाई ८१ रनले पराजित गर्यो । दुई बर्षपछि प्रधानमन्त्री कप खेलेका पुर्व राष्ट्रिय टोलीका ओपनर अनिल मण्डलले आकर्षक ब्याटिङ्ग गर्दै ८९ रन बनाएपनि कर्णालीले आर्मीलाई ४३ दशमलव १ ओभरमै १ सय ९५ रनमा अल आउट गरेको थियो ।

दोश्रो ओभरदेखि नै विकेट गुमाउन थालेको कर्णाली ३३ दशमलव ३ ओभरमा १ सय १५ रनमा अल आउट भएको थियो । आर्मीको सहज जितमा दुई बाया हाते स्पिनर सुशन भारी श्रेष्ठ र शाहब आलमले संयुक्त रुपमा ७ विकेट लिएका थिए ।

भारीले ८ दशमलव ३ ओभरमा १९ रन खर्चदै चार विकेट लिए भने पहिलो खेल खेलेका साहबले १० ओभरमा ४४ रन दिएर तीन विकेट लिएका थिए । कर्णालीका लागि कप्तान रविन्द्र जँग शाहीले ३० रन बनाए भने हेमन्त ओलीले १६ रन जोडेका थिए । अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । रविन्द्र र हेमन्तले कर्णालीको २८ रनको पर्टनरशिप गरेका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको आर्मीले ओपनर राजु रिजाललाई शुन्यमै गुमाएको थियो । आर्मी ४२ रनमा तीन विकेटको अवस्थामा पुगेपछि अनिलले कप्तान बिनोद भण्डारीसँग शतकीय साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।

एक समयका राष्ट्रिय टोलीकै उत्कृष्ट ओपनर बनिसकेका अनिलले बिनोदसँग चौथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए । तर बिनोद आउट भएपछि आर्मीको इनिङ्गस संघर्षरत हुन पुगको थियो । यसअघिको खेलमा गण्डकीबिरुद्ध शतक प्रहार गरेका बिनोदले ५५ बलमा ४१ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे ।

१ सय १४ बलको इनिङ्गसमा अनिलले १४ चौका प्रहार गरेका थिए । कर्णालीका लागि दिनेश अधिकारी, राज शाह र दिवान पुनले दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending