Headline

डिफेन्डिङ्ग च्याम्पियन पुलिस बागमतीसँग ७ विकेटले पराजित

Published

on

बागमती प्रदेशले पहिलो खेलमै डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा तिब्र गतिका बलर नन्दन यादव र लेग स्पिनर तिलक भण्डारीले ४–४ विकेट लिएपछि निकै कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको पुलिस २९ दशमलव तीन ओभरमा १ सय ११ रनमै अल आउट भयो । पुलिसले प्रधानमन्त्री कप इतिहासमै सबैभन्दा कम योगफल बनाएको हो ।

जवाफमा लामो समयमा मैदान फर्किएका पृथु बास्कोटाले इशान पाण्डे (१२) सँग अद्र्धशतकीय साझेदारी गरेपछि बागमतीले ३३ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमा १ सय १४ रन बनायो ।

राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का (१७) सहित पहिलो तीन विकेट मात्रै ३५ रनमा गुमाएपछि सुस्त शुरुवात गरेको बागमती केही समयका लागि दवाबमा रहेको थियो । पृथुले केही आकर्षक शटहरु प्रहार गर्दै दवाब कम गरे भने इशानले पुलिसका बलरहरुको धैर्यताको परिक्षा लिएका थिए ।

उनले ६६ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाए । पृथुले ६६ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ४८ रन बनाएका थिए ।

यसअघि कुशल भुर्तेल र सुनिल धमलाले पुलिसका लागि पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए तर रामनरेश गिरीले पहिलो दुई विकेट लिनुका साथै नन्दनले कुशललाई पेभिलियन फर्काएपछि उसले अर्को ३४ रनमा तीन ब्याट्स्म्यानलाई गुमाएको थियो ।

चौथो विकेटका लागि दिपेन्द्र सिँह ऐरि र आरिफ शेखले गरेको ३४ रनको साझेदारी पुलिसको लागि सबैभन्दा ठूलो रहन पुग्यो । तिलकले आरिफलाई एलबिडब्लु धरापमा पारेसँगै पुलिसको पतन शुरु भएको थियो ।

पुलिसले अन्तिम सात विकेट ११ रनमै गुमाएको थियो । आरिफ र दिपेन्द्रले समान २१ रन जोडेका थिए । कुशल र धमलाले पनि समान १७ रन बनाए । अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तिलकले ७ दशमलव ३ ओभरमा १७ रन खर्चिए भने नन्दनले ९ ओभरमा ३१ रन खर्र्चिए ।

Click to comment

Trending