Headline

अविनाशको घातक बलिङ्गपछि प्रदेश १ को एपिएफसँग लज्जास्पद हार

Published

on

अविनाश बोहोराले पाँच विकेट लिएपछि प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबसँग १ सय ३५ रनको लज्जास्पद हार ब्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जितका लागि २ सय ४४ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ४२ दशमलव चार ओभरमा १ सय ७ रनको झिनो योगफलमै समेटियो । आसिफ शेखको छरितो अद्र्धशतकसँगै मिडल अर्डरको उल्लेखनीय योगदानमा पहिलो ब्याटिङ्ग गरेको एपिएफले ४८ दशमलव ४ ओभरमा अल आउट हुदै २ सय ४३ रन बनाएको थियो ।

अविनाशले घातक बलिङ्ग गर्दै १० ओभरमा ६ मेडन राख्दै मात्र १८ रनको खर्चमा पाँच विकेट लिएपछि बिराटनगर प्रतियोगिताकै कम योगफलमा समेटिएको थियो । यस्तै निकै कसिलो बलिङ्ग गरेका भेटेरान बाया हाते स्पिनर बसन्त रेग्मीले १० ओभरमा तीन मेडन राख्दै मात्र १३ रनको खर्चमा दुई विकेट लिएका थिए ।

प्रदेश १ का लागि मिनास थापा (१८), दिपेश कँडेल (१६), फिर्दोस अन्सारी (१७), दिपक पासवान (१३) र जोसक खड्का (१२) ले दोहोरो अंकमा रन जोडेका थिए ।

यसअघि आसिफले आक्रमक अद्र्धशतक प्रहार गर्दै छरितो शुरुवात दिलाएपनि एपिएफले त्यसलाई ठूलो योगफलमा बदल्न सकेको थिएन । २९ बलमै अद्र्धशतक पुरा गरेका आसिफले पहिलो विकेटका लागि सुभाष खकुरेल (१९) सँग ९ ओभरभित्रै ७१ रन जोडेका थिए ।

आसिफले ३२ बलमा ५९ रन बनाए । सोनु मण्डललाई एकै ओभरमा २१ रन प्रहार गरेका उनले पाँच छक्का र ६ चौका प्रहार गर्दै ३२ बलमा ५९ रन जोडेका थिए ।

आसिफको विकेट पतनपछि भने प्रदेश १ ले एपिएफलाई खुलेर खेल्न दिएन । १ सय २६ रनमै पाँच विकेट गुमाएको एपिएफलाई बसन्तले सन्दिप जोरासँग ६६ रनको साझेदारी गर्दै केही गति दिएका थिए । बसन्तले ५२ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४० रन बनाए ।

जोराले ३९ बलमा चार चौकाको मद्दतमा ३० रन जोडेका थिए । प्रदेश १ का लागि फिर्दोस अन्सारी, दिपेश कँडेल, हेमन्त राइ र श्रवण यादवले दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending