Headline

किरणले पेनाल्टी त बचाए तर पञ्जाब हार्यो

Published

on

नेपाली राष्ट्रिय टोलीका फुटबलर किरण चेम्जोङ्गले कप्तानी गरेको खेलमा राउण्ड ग्लास पञ्जाब एफसी आई–लिगको आफ्नो दोश्रो खेलमा गोकुलम केरला एफसीसँग पराजित भएको छ ।

नियमित कप्तान बिक्रमजित सिँह अनुपस्थित रहेपछि पञ्जाबको कप्तानी किरणले गरेका थिए तर उनले ४–३ को हारको सामना गरे । पहिलो खेलमा अजवाललाई १–० ले पराजित गर्दा क्लिन शिट राख्दै सुखद शुरुवात गरेका किरणलाई दोश्रो खेलमा भने झड्का लागेको हो ।

भुटानी स्टार स्ट्राइकर चेन्चो ग्याल्त्सेनले सात मिनेटको अन्तरमा दुई गोल गर्दा पञ्जाबले २५ मिनेटमै २–० ले अग्रता लिएको थियो । एक मिनेटपछि नै फिलिप अड्जाहले गोल गरेपनि रुपर्ट नोन्ग्रमले ४४ औं मिनेटमा अर्को गोल थप्दा पञ्चाबले पहिलो हाफमा ३–१ को फराकिलो अग्रता बनाएको थियो ।

दोश्रो हाफको शुरुवातमै केरलाले पेनाल्टी पाएको थियो । तर किरणले डेनिस एन्टवीको पेनाल्टीलाई रोकेका थिए । एन्टवीले गल्तिको भरपाइ गर्दै ६९ र ७३ औं मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए भने ७५ औं मिनेटमा अनवर अलीले आत्मघाती गोल गर्न पुग्दा पञ्जाबले जितेको खेल पनि हार्यो ।

खेलमा पेनाल्टी बचाउन बाहेक किरणले अन्य केही उत्कृष्ट सेभहरु पनि गरेका थिए । केरलाको आई–लिगमा यो पहिलो जित हो ।

Click to comment

Trending