Headline

रोनाल्डो भर्सेस लुकाकुः सिरी आ सिजनको निर्णायक खेलमा इन्टर र युभेन्टसको भिडन्त

Published

on

इटालियन सिरी आ को सिजनकै निर्णय गर्न सक्ने मानिएको खेलमा आइतबार क्रिष्चियानो रोनाल्डोको युभेन्टसले रोमेलु लुकाकुको इन्टर मिलान भिडिरहेका छन् ।

गत सिजन युभेन्टसले एक अंकले मात्र सिरी आ सिजनको उपाधि जित्दा इन्टर दोश्रो स्थानमा सिमित भएको थियो । सान सिरोमा अघिल्लो सिजनका शिर्ष दुई टोलीबीचको टक्करले यही कारणले नै बिशेष महत्व राखेको छ । र यो खेल इटालीको शिर्ष डिभिजनका दुई उच्च गोलकर्ताबीचको भिडन्त पनि रहनेछ । रोनाल्डोले लिगमा १५ गोल गरिसकेका छन् भने लुकाकुले १२ ।

दुवै टोलीलाई यो सिजन उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । अर्को दाबेदार एसी मिलानभन्दा इन्टर मात्र तीन अंकले दोश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको युभेन्टस सात अंकको दुरीमा चौथो स्थानमा छ ।

एन्तोनियो कोन्टेको इन्टर र आन्द्रे पिर्लोको युभेन्टस एक आपसमा भिडिरहदा सिजनको मध्यसम्म आइपुग्दा भने मिलानलाई आफ्नो अग्रता बढाउने अवसर हुनेछ । उसले मँगलवार अवे खेलमा पुछारको काग्लियारीबिरुद्ध खेल्नेछ ।

युभेन्टस, इन्टर र मिलान तीन वटै टोली इटालियन कपको थकित बनाउने फिक्सचरपछि खेल्न गइरहेका हुन् । तीन वटै टोलीलाई क्वार्टर–फाइनल प्रवेश गर्नका लागि १ सय २० मिनेट मैदानमा मिहिनेत गर्नु परेको थियो ।

रोनाल्डोले यो सिजन १५ गोल गरेका छ्न् भने शिर्ष गोलकर्ताको सुचीमा लुकाकु १२ गोलसहित दोश्रोमा रहेका छन् ।

आफ्नो टोलीले २०१० यता पहिलो पटक लिग जित्न सक्ने भविष्य निर्धारण गर्न सक्ने खेल खेल्न जादा आफ्नो टोलीमा थकान रहेको मान्न चाहदैनन् । “हरेक जितले शुद्ध उर्जा दिने गर्छ र जितहरुले ब्याटरी रिचार्ज हुन्छन्,” पुर्व युभेन्टस र चेल्सी प्रशिक्षक कोन्टेले भने ।

“आइतबारको खेलका लागि रिकभर गर्न हामीसँग पर्याप्त समय छ । युभेन्टसबिरुद्धको खेलले हामी कहाँ छौं त्यो त स्पष्ट पार्छ नै र गत सिजनको तुलनामा जुन खाडल देखिएको थियो त्यसलाई कुन हदसम्म पुर्न सकेको छौं यो पनि तय हुनेछ,” उनले भने ।

च्याम्पियन्स लिगमा समुह चरणबाट बाहिरिएपछि इन्टरको ध्यान अब घरेलु सिजनका उपाधिहरु जित्ने तर्फ केन्द्रित रहेको छ । तर लगातार ८ खेल जितेको इन्टरको बिजयी यात्रामा पूर्णबिराम लाग्दै लय गुमाउन पुग्दा उसले पछिल्लो दुई खेलमा पाँच अंक गुमाउन पुगेको थियो । साम्प्डोरियासँग हारेको इन्टरले एएस रोमासँग बराबरी गरेको थियो ।

सन् २०१६ सेप्टेम्बर यता इन्टरले युभेन्टसलाई हराउन सकेको छैन । उसले लगातार पाँच खेल हार्दै दुईमा बराबरी गरेको थियो ।

तुलनात्मक रुपमा प्रशिक्षकको रुपमा पहिलो पटक जागिर सम्हालेको पिर्लोले सिजनको शुरुवात राम्रो नगरेपनि उनको टोलीले लगातार तीन खेल जित्दै उत्कृष्ट पुनरागमन गरेका छन् । ती तीन जितमध्ये एक सान सिरोमै एसि मिलानबिरुद्धको ३–१ को नतिजा थियो ।

आइतबारको भिडन्त इटालीको अहिले सिजनको सबैभन्दा उत्कृष्ट आक्रमण रहेको र सशक्त रक्षपंक्ति रहेको टोलीबीच पनि हुनेछ । इन्टरले जारी सिजनमा ४३ गोल गर्दा युभेन्टसले भने १६ गोल मात्रै खाएको छ ।

Click to comment

Trending