Headline

नेमारले पुनरागमनमै गोल गर्दा पिएसजीलाई उपाधि

Published

on

ब्राजिलियन स्टार नेमार आफ्नो पुनरागमन खेलमै गोल गर्न सफल हुँदा माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्माइनका लागि प्रशिक्षकको रुपमा पहिलो उपाधि जितेका छन् ।

लेन्समा बिहिबार भएको फ्रेन्च च्याम्पियन्स ट्रफीको फाइनलमा पिएसजीले चीर प्रतिद्वन्दी मार्सेलाई २–१ ले पराजित गर्यो । माउरो इकार्डीले पहिलो हाफमा गोल गरेपनि नेमारले पिएसजीलाई ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको जित सुनिश्चित गरेका थिए ।

पोचेटिनोले पिएसजीको प्रशिक्षकमात्रै नभएर व्यवस्थापन करिअरकै पहिलो उपाधि जितेका हुन् । “म अझै धेरै उपाधि जित्न चाहन्छु तर पहिलो जहिल्यै पनि बिशेष हुनेछ । राम्रो खेलेको कारण हामी उपाधिको हकदार पनि थियौं,” पोचेटिनोले खेलपछि भने ।

सुपर कप समान रहेको च्याम्पियन्स ट्रफि सामान्यतया सिजनको शुरुवातमा लिग च्याम्पियन र फ्रेन्च कपको बिजेताबीच हुने गरेको छ । यो सिजन कोरोना भाइरसको अघिल्लो सिजन स्थगनका कारण केही पर धकेलिएको थियो ।

गत सिजन दुवै उपाधि पिएसजीले जित्दा मार्सेलाई लिग वान उपबिजेताको हैसियतले स्थान दिइएको थियो । गत सेप्टेम्बरमा भएको निकै तनावपूर्ण खेलमा दुई टिमका नेमारसहित पाँच खेलाडीले रेड कार्ड खादा लेन्समा भिडन्त रोचक हुने अपेक्षा गरिएको थियो ।

तर निरस रहेको खेलको प्रमुख आकर्षण नै नेमारले सब्स्टिच्युटको रुपमा प्रवेश गर्दै एक महिनापछिको पुनरागमनमा गरेको गोल हुन पुग्यो । डिसेम्बर १३ मा लियोनसँग १–० ले पराजित भएको खेलमा गोलीगाँठोमा चोट लागेपछि नेमार मैदानबाहिर रहेका थिए ।

दिमीत्री पायेटले मार्सेका लागि एक मात्र गोल फर्काएका थिए । तर एक मिनेट मात्र बाकी रहदा पायेटको गोल निकै ढिलो आइपुगेको थियो ।

Click to comment

Trending