Headline

नेपालकै प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम आज

Published

on

नेपालकै प्रतिष्ठित खेलकुद पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड मङ्गलवार आयोजन हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ आंै वर्ष मनाउने क्रममा १७ औं संस्करणको अवार्ड कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्दैछ ।

कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको हो । मञ्च २०५२ साल भदौ २५ गते स्थापना भएको हो । कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन पाएन ।

चार वटा राष्ट्रिय टेलिभिजनहरुबाट प्रत्यक्ष प्रशारण हुने अवार्ड यसपटक भर्चुवल रुपमा सातबादोस्थित नेपाल कराते संघको प्रतियोगिता आयोजना स्थलमा हुनेछ । अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिने छ । यो नेपालकै पहिलो र हालसम्म एक मात्र भर्चुवल अवार्ड पनि हुनेछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

Click to comment

Trending