Headline

अष्ट्रेलियाको हातबाट जित खोस्न सफल भारत

Published

on

तेश्रो टेस्टको पाँचौं तथा अन्तिम दिन भारतका मध्यक्रमका ब्याट्सम्यान हनुमा बिहारी र स्पिनर रविचन्द्रन अश्विनले उत्कृस्ट ब्याटिङ गरे पछि जित नजिक पुगेको अष्ट्रेलिया ड्र खेल्न बाध्य भएको छ । यस सँगै चार टेस्टको शृंखला १-१ को बराबरीमा रहेको छ । पहिलो खेल अष्ट्रेलियाले तथा दोश्रो खेल भारतले समान ८-८ विकेटले जितेका थिए । अब अन्तिम टेस्ट जित्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ ।

२७७ रनको अवस्थामा पाँच विकेट गुमाएर हार तर्फ लम्केको भारतको तर्फबाट बिहारी र अश्विनले उत्कृस्ट ब्याटिङ गर्दै ६२ रनको साझेदारी गर्दै भारतलाई हारबाट जोगाए । मात्र ६२ रन जोडे पनि उनीहरु दुई मिलेर २५६ बल खेल्दै जित नजिक पुगेको अष्ट्रेलियालाई ड्रमा चित्त बुझाउन बाध्य बनाए । १६१ बलको सामना गरेका बिहारी २३ तथा १२८ बल खेलेका अश्विन ३९ रनमा अविजित रहे ।

अष्ट्रेलियाले दिएको ४०७ रनको लक्ष्य सहित ब्याटिङ सुरु गरेको भारतले पाँचौं दिनको खेल ३४ ओभरमा दुई विकेटको नोक्सानीमा ९८ रनको स्थितिबाट सुरु गरेको थियो । चौथों दिनको खेलको समाप्तिमा चार रनमा अविजित रहेका कप्तान अजिंक्य रहाने अन्तिम दिन एक रन पनि जोड्न नसकी आउट भए ।

त्यस पछि ब्याटिङमा आएका विकेट किपर ब्याट्सम्यान रिशब पन्तले तेश्रो नम्बरमा ब्याटिङमा आएका चेतेश्वर पुजारासँग मिलेर १४८ रन जोड्दै भारतलाई जित तर्फ डोर्याए । तर ९७ रन बनाएका पन्त न्याथन लायनको तथा ७७ रन जोडेका पुजारा जश ह्याजलउडको शिकार बन्दा भारत ८८ ओभरमा २७२ रनको अवस्थामा खुम्चिन पुग्यो ।

क्यामरुन ग्रिन, स्टिभ स्मिथ र मार्नस लाबुसेनले अर्धशतक प्रहार गरे पछि अष्ट्रेलियाले ४०६ रनको अग्रता लिंदै आफ्नो दोश्रो पारीमा छ विकेटको नोक्सानीमा ३१२ जोडे पछि डिक्लियर गरेको थियो ।

अष्ट्रेलियाको तर्फबाट दोश्रो पारीमा ग्रिनले सर्वाधिक ८४ रनको पारी खेले भने दुबै पारीमा शतक बनाउन चुकेका स्मिथ ८१ रनमा तथा पहिलो पारीमा नौं रनले शतक बनाउन चुकेका लाबुसेन ७३ रनमा पेभेलियन फर्किए । अष्ट्रेलियाका कप्तान टिम पेन ३९ रनमा अविजित रहे ।

भारतका बलरहरु नवदिप साइनी र रविचन्द्रन अश्विनले समान २-२ विकेट लिए भने जस्प्रित बुम्रा र मोहम्मद सिराजले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

अष्ट्रेलियाले पहिलो पारीमा बनाएको ३३८ रन पक्ष्याएको भारतलाई तेश्रो दिनको खेलमा १०० दशमलब चार ओभर खेल्दै २४४ रन म रोक्दै अष्ट्रेलियाले फराकिलो अग्रता लिएको हो ।

भारतलाई सस्तोमा नै रोक्ने क्रममा प्याट कमिन्सले सर्वाधिक चार तथा जश हेजलउडले दुई विकेट हात पारे ।

भारतको तर्फबाट ओपनर शुबमन गिल र चेतेश्वर पुजाराले समान ५०-५० रन बनाए । त्यस्तै रिशब पन्तले ३६, रोहित शर्माले २६,अजिंक्य रहानेले २८ रन बनाए भने रविन्द्र जडेजा २८ रनमा अविजित रहे ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा १०५ दशमलब चार ओभर खेल्दै ३३८ रन बनाउँदा आफ्नो सबै विकेट गुमायो ।

अष्ट्रेलियाको तर्फबाट स्मिथले सर्वाधिक १३१ रन बनाए । २२६ बलको सामना गरेका उनले १६ चौका प्रहार गरे । यस अघिका चार पारीमा मात्र १० रन बनाएका स्मिथको यो २७ औं टेस्ट शतक हो ।

अष्ट्रेलियाको लागि स्मिथ बाहेक शतक बनाउन चुकेका मार्नस लाबुसेनले ९१, विल पुकोव्सकीले ६२ तथा मिचेल स्टार्कले २४ रनको योगदान दिए । त्यस्तै अष्ट्रेलियाका अन्य ब्याट्सम्यानहरुमा डेभिड वार्नर पाँच, म्याथ्यु वेड १३, कप्तान टिम पेन एक तथा क्यामरुन ग्रिन, प्याट कमिन्स र न्याथन लायन शुन्य रनमा पेभेलियन फर्किए ।

भारतका रविन्द्र जडेजाले १८ ओभरमा ६२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र टेस्टमा डेब्यु गरेका नवदिप साइनीले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending