Headline

कप्तान चयनलाई लिएर गण्डकी प्रदेश क्रिकेट संघमा देखिएको समस्या

Published

on

आइतबार गण्डकी प्रदेशले काठमाडौंमा माघ २ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गर्यो । टोलीको कप्तानी बिपिन खत्रीलाई दिइएको छ ।

तर साँझ प्रदेशका सिनियर खेलाडी दिपेश खत्रीले अचम्म मान्दै फेसबुकमा प्रदेशको घोषणालाई लज्जास्पद भन्दै एक पोस्ट गरे । पोस्टमा दिपेशले आफूलाई प्रदेशका छनोटकर्ताहरुले आफूलाई कप्तान बनाइएको भन्दै बधाई समेत दिएको खुलाशा गरे ।

“छनोटकर्ताले मलाई जिम्मेवार बनाएकोमा म निकै खुशी थिए । तर अहिले टिमको सुची हेर्दा अर्कै खेलाडीलाई कप्तानी दिइएको थाहा पाउदा गण्डकी प्रदेशका पदाधिकारीहरुले मेरो बेइज्जत गरेको महसुस भएको छ,” दिपेशले आफ्नो पोस्टमा लेखेका छन् ।

“सबैभन्दा पहिले त मलाई छनोटकर्ताहरुले आएर त कप्तान होस भन्नै नहुने थियो र जसरी यो निर्णय उल्टाए यसले मेरो यस क्षेत्रको २२ बर्षे क्रिकेट करिअरलाई नै चुनौति दिएको छ । मसँग यस्तो पहिलो पटक भने भइरहेको होइन । मलाई पटक–पटक यस्तै गरिएको छ । म यो खेललाई माया गर्छु र जो सुकै कप्तान भएपनि उसको अण्डरमा नै खेल्नेछु किन भने मलाई थाहा छ यो कप्तान घोषित भएका खेलाडीको दोष होइन,” उनले लेखेका छन् ।

दिपेशलाई बधाइ दिने ब्यक्ति प्रदेशका प्रमुख छनोटकर्ता ऋषि राम गौतम थिए । उनी प्रदेशका केन्द्रिय सदस्य पनि हुन् । छनोट समितिले दिपेशलाई नै कप्तानको रुपमा प्रस्ताव गरेको थियो । तर यसलाई पारित गर्ने काम प्रदेश संघकै हो ।

“मैले नै दिपेशलाई उनले कास्कीको क्रिकेट बिकासमा दिएको योगदानका कारण उनलाई यस पटक प्रधानमन्त्री कपमा प्रदेशको कप्तानी गर्दै सन्यास लिएर फर्कने र त्यसपछि उमेर समुहको टोलीको प्रशिक्षक वा मेन्टरको रुपमा काम गर्ने भन्दै बधाई दिएको थिए,” गौतमले स्विकारे ।

तर यो श्रंखलाले स्पष्ट के भएको छ भने गण्डकी प्रदेश संघभित्र समस्या प्रशस्तै रहेको छ । “छनोट समितिको निर्णयलाई प्रदेश संघले त्यसरी उल्टाउने हो भने बैठकमा बस्ने औचित्य समाप्त भएको भन्दै मैले बैठक नै छोडेको थिए,” गौतमले खुलाए ।

“गण्डकी प्रदेश संघ भित्र व्यक्तिगत महत्वाकांक्षा हावी भएको कारण त्यहा निकै धेरै समस्या छ । यो लामो समयदेखि नै चल्दै आएको छ,” नाम नबताउने शर्तमा एक स्रोतले क्रिकेटिङ्गनेपाललाई भन्यो ।

पहिले जिल्ला र अहिले प्रदेश संघको कार्य शैलितर्फ असन्तुष्टि पोख्दै आएका दिपेश दोश्रो पटक यही समस्याको शिकार भएका हुन् । हाल गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुकै नेतृत्वमा रहेको कास्की जिल्ला क्रिकेट संघले दिपेशलाई डिसेम्बर, २०१४ मा तीन बर्षको लागि निलम्बन गरेको थियो । नेपालमा कुनै पनि क्रिकेटरलाई त्यति लामो समय निलम्बन गरिएको थिएन । पछि उनको निलम्बन अवधिलाई छोट्याइएको पनि थियो ।

कास्की जिल्ला क्रिकेट संघको क्षेत्रीय छनोटबिरुद्ध मिडियामा बोलेको र आफू टिममा रहदा पनि पोखराका लागि खेल्न अस्विकार गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

२००४ आईसिसि अण्डर १९ बिश्वकप टोलीमा रहेका ३५ बर्षिय दिपेश २००७ मा कुवेतमा भएको एसिसि ट्वान्टी ट्वान्टी कपमा पनि नेपाली टिमका सदस्य रहेका थिए । सन्यासको संघारमा रहेका उनले २०१६ को एभरेष्ट प्रिमियर लिगपछि जनवरी, २०२० मै गण्डकी प्रदेशका लागि एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका थिए ।

Click to comment

Trending