अन्तर्राष्ट्रिय

टेस्ट जोगाउन संघर्ष गर्दै भारत

Published

on

घरेलु टोली अष्ट्रेलिया विरुद्धको तेश्रो टेस्ट जोगाउन भारत संघर्षरत रहेको छ । ४०७ रनको विशाल लक्ष्य पक्ष्याएको भारतले अन्तिम दिन जितका लागि ३०९ रन जोड्न पर्ने हुन्छ भने हार टार्ने हो भने पनि आठ विकेट जोगाउन पर्ने हुन्छ ।

अष्ट्रेलियाले दिएको ४०७ रनको लक्ष्य सहित ब्याटिङ सुरु गरेको भारतले चौथों दिनको खेलको समाप्तिमा ३४ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा ९८ रन बनाएको छ ।

भारतको लागि दोश्रो पारीमा ओपनर रोहित शर्मा ५२ रन तथा अर्का ओपनर शुबमन गिल ३१ रन बनाएर आउट भए भने दिनको खेलको समाप्तिमा चेतेश्वर पुजारा र कप्तान अजिंक्य रहाने क्रमसः नौं र चार रनमा अविजित रहेका छन् ।

क्यामरुन ग्रिन, स्टिभ स्मिथ र मार्नस लाबुसेनले अर्धशतक प्रहार गरे पछि अष्ट्रेलियाले ४०६ रनको अग्रता लिंदै आफ्नो दोश्रो पारीमा छ विकेटको नोक्सानीमा ३१२ जोडे पछि डिक्लियर गरेको थियो ।

अष्ट्रेलियाको तर्फबाट दोश्रो पारीमा ग्रिनले सर्वाधिक ८४ रनको पारी खेले भने दुबै पारीमा शतक बनाउन चुकेका स्मिथ ८१ रनमा तथा पहिलो पारीमा नौं रनले शतक बनाउन चुकेका लाबुसेन ७३ रनमा पेभेलियन फर्किए । अष्ट्रेलियाका कप्तान टिम पेन ३९ रनमा अविजित रहे ।

भारतका बलरहरु नवदिप साइनी र रविचन्द्रन अश्विनले समान २-२ विकेट लिए भने जस्प्रित बुम्रा र मोहम्मद सिराजले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

अष्ट्रेलियाले पहिलो पारीमा बनाएको ३३८ रन पक्ष्याएको भारतलाई तेश्रो दिनको खेलमा १०० दशमलब चार ओभर खेल्दै २४४ रन म रोक्दै अष्ट्रेलियाले फराकिलो अग्रता लिएको हो ।

भारतलाई सस्तोमा नै रोक्ने क्रममा प्याट कमिन्सले सर्वाधिक चार तथा जश हेजलउडले दुई विकेट हात पारे ।

भारतको तर्फबाट ओपनर शुबमन गिल र चेतेश्वर पुजाराले समान ५०-५० रन बनाए । त्यस्तै रिशब पन्तले ३६, रोहित शर्माले २६,अजिंक्य रहानेले २८ रन बनाए भने रविन्द्र जडेजा २८ रनमा अविजित रहे ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा १०५ दशमलब चार ओभर खेल्दै ३३८ रन बनाउँदा आफ्नो सबै विकेट गुमायो ।

अष्ट्रेलियाको तर्फबाट स्मिथले सर्वाधिक १३१ रन बनाए । २२६ बलको सामना गरेका उनले १६ चौका प्रहार गरे । यस अघिका चार पारीमा मात्र १० रन बनाएका स्मिथको यो २७ औं टेस्ट शतक हो ।

अष्ट्रेलियाको लागि स्मिथ बाहेक शतक बनाउन चुकेका मार्नस लाबुसेनले ९१, विल पुकोव्सकीले ६२ तथा मिचेल स्टार्कले २४ रनको योगदान दिए । त्यस्तै अष्ट्रेलियाका अन्य ब्याट्सम्यानहरुमा डेभिड वार्नर पाँच, म्याथ्यु वेड १३, कप्तान टिम पेन एक तथा क्यामरुन ग्रिन, प्याट कमिन्स र न्याथन लायन शुन्य रनमा पेभेलियन फर्किए ।

भारतका रविन्द्र जडेजाले १८ ओभरमा ६२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र टेस्टमा डेब्यु गरेका नवदिप साइनीले समान २-२ विकेट हात पारे ।

चार खेलको शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो खेल अष्ट्रेलियाले तथा दोश्रो खेल भारतले समान ८-८ विकेटले जितेका थिए ।

Click to comment

Trending