Headline

पिएसजीमा पोचेटिनोको घरेलु खेलमा पहिलो जित

Published

on

प्रशिक्षकको रुपमा पेरिस सेन्ट जर्माइनको कुर्सी सम्हालेका माउरियो पोचेटिन्होले पहिलो होम खेल जितेका छन् । शनिबार भएको खेलमा माइजे किनको प्रेरणादायी प्रदर्शनमा डिफेन्डिङ्ग च्याम्पियन पिएसजीले ब्रेस्टलाई ३–० ले पराजित गर्यो ।

ब्राजिलियन स्टार नेमार अनुपस्थित रहेको खेलमा किनले १६ औं मिनेटमै पिएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि पिएसजीले लामो समय गोलका लागि कुर्नु पर्यो । ८१ र ८३ औं मिनेटमा क्रमशः माउरो इकार्डी र पाब्लो साराबियाले गोल गरेपछि पिएसजीको जित सहज देखिएको थियो ।

जितका बावजुद फ्रेञ्च लिग वानको अंक तालिकामा लियोन एक अंकले पिएसजीभन्दा अघि रहेको छ । समान १९ खेलपछि लियोनको ४० र पिएसजीको ३९ अंक रहेको छ । पिएसजी लिलेसँग गोल अन्तरको आधारमा अघि रहेको छ । लियोनले शनिबार रेनेससँग बराबरी गरेको थियो ।

थोमस टुचेल बर्खास्त भएपछि पद सम्हालेका पोचेटिनोको पहिलो खेल सेन्ट एटिनेबिरुद्ध १–१ गोलको बराबरीमा टुगिँएको थियो । दुई दशकअघि पिएसजीमै खेलाडीको रुपमा ख्याति कमाएका पोचेटिनोले पहिलो दुई खेल आफ्नो लागि निकै कठिन भएको बताए ।

“मैले केटाहरुसँग सँगै काम गर्ने समय निकै कम पाएको थिए र यस दौरान दुई निकै प्रतिस्पर्धात्मक खेलहरु खेल्न पुग्यौं । यति हुदाँ पनि जुन स्तरको प्रदर्शन भयो त्यो सन्तोषजनक थियो । हाम्रो प्रदर्शन सुधारिएको थियो र जित पनि निकै महत्वपूर्ण थियो,” पोचेटिनोले भने ।

Click to comment

Trending