Headline

लिभरपुलको पाँच मिनेटमै तीन गोल

Published

on

कोभिड–१९ को संक्रमणका कारण कमजोर बनेको एस्टन भिल्लालाई ४–१ ले पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

प्रशिक्षण मैदानमा कोरोना भाइरस देखिएपछि भिल्लाले पहिलो टोलीका कुनै पनि खेलाडीलाई लिभरपुलबिरुद्ध खेलाएको थिएन । भिल्लाको शुक्रबारको शुरुवाती ११ मा सात अण्डर–२३ र चार अण्डर–१८ खेलाडीहरु रहेका थिए ।

चौथो मिनेटमै लिभरपुललाई सादियो मानेले अग्रता दिलाए पनि अनुभवबिहिन रहेको भिल्लाका खेलाडीहरुले प्रिमियर लिग डिफेन्डिङ्ग च्याम्पियनलाई रोक्न सफल भएको थियो । १७ बर्षिय लुई ब्यारीले भिल्लाका लागि बराबरी गोल गरेका थिए ।

तर दोश्रो हाफमा पाँच मिनेटको अन्तरमै तीन गोल गर्दै लिभरपुलले जित सुनिश्चित गरेको थियो । ६० औं मिनेटमा जोर्जिनियो वाइनाल्डमले लिभरपुलको अग्रता फर्काए भने त्यसको तीन मिनेटमै मानेले अर्को गोल गरेका थिए । मोहम्मद सलाहले ६५ औं मिनेटमा लिभरपुलका लागि चौथो गोल गरेका थिए ।

शुक्रबार नै भएको अर्को खेलमा अडामा ट्राओरेको एक मात्र गोलको मद्दतमा उल्भ्सले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । ट्राओरेले झण्डै एक बर्षमा पहिलो पटक उल्भ्सका लागि गोल गरेका हुन् ।

Click to comment

Trending