अन्तर्राष्ट्रिय

स्मिथको शतकमा अष्ट्रेलिया बलियो अवस्थामा 

Published

on

पुर्व कप्तान स्टिभ स्मिथले शतक तथा मार्नस लाबुसेन र विल पुकोव्सकीले अर्धशतक प्रहार गरे सँगै भारत विरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा अष्ट्रेलिया बलियो अवस्थामा रहेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा १०५ दशमलब चार ओभर खेल्दै ३३८ रन बनाउँदा आफ्नो सबै विकेट गुमायो भने जवाफी ब्याटिङ गरेको भारतले दोश्रो दिनको खेलको समाप्तीमा ४५ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा ९६ रन बनाएको छ र अष्ट्रेलिया भन्दा २४२ रनले पछि रहेको छ ।

अष्ट्रेलियाको तर्फबाट स्मिथले सर्वाधिक १३१ रन बनाए । २२६ बलको सामना गरेका उनले १६ चौका प्रहार गरे । यस अघिका चार पारीमा मात्र १० रन बनाएका स्मिथको यो २७ औं टेस्ट शतक हो ।

अष्ट्रेलियाको लागि स्मिथ बाहेक शतक बनाउन चुकेका मार्नस लाबुसेनले ९१, विल पुकोव्सकीले ६२ तथा मिचेल स्टार्कले २४ रनको योगदान दिए । त्यस्तै अष्ट्रेलियाका अन्य ब्याट्सम्यानहरुमा डेभिड वार्नर पाँच, म्याथ्यु वेड १३, कप्तान टिम पेन एक तथा क्यामरुन ग्रिन, प्याट कमिन्स र न्याथन लायन शुन्य रनमा पेभेलियन फर्किए ।

भारतका रविन्द्र जडेजाले १८ ओभरमा ६२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र टेस्टमा डेब्यु गरेका नवदिप साइनीले समान २-२ विकेट हात पारे ।

भारतका ओपनरद्वय शुबमन गिल ५० तथा रोहित शर्मा २६ रनमा आउट भए भने दिनको खेलको समाप्तिमा चेतेश्वर पुजारा र कप्तान अजिंक्य रहाने क्रमश ५३ बलमा नौं तथा ४० बलमा पाँच रनमा अविजित रहेका छन् ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलिया र दोश्रो टेस्ट भारतले समान ८-८ विकेट ले जित हात पारेका थिए ।

Click to comment

Trending