अन्तर्राष्ट्रिय

वर्षाले प्रभावित पहिलो दिनको खेलमा अष्ट्रेलियाको राम्रो सुरुवात

Published

on

विल पुकोव्सकी र मार्नस लाबुसेनले अर्धशतक प्रहार गर्दा भारत विरुद्धको तेश्रो टेस्टको पहिलो दिनको खेलमा वर्षा बाधक बने पनि घरेलु टोली अष्ट्रेलियाले राम्रो सुरुवात गर्न सफल भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको खेलको समाप्तीमा ५५ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १६६ रन बनाएको छ ।

पाँच रन बनाएका ओपनर डेभिड वार्नर मोहम्मद सिराजको बलमा आउट हुँदा खराब सुरुवात गरेको अष्ट्रेलियाका युवा ब्याट्सम्यानद्वय पुकोव्सकी र लाबुसेनले टोलीको पारी सम्हालेका थिए । उनीहरुले दोश्रो विकेटका लागि १०० रनको साझेदारी गरे । आजको टेस्टमा डेब्यु गरेका २२ बर्षीय पुकोव्सकीले नवदिप साइनीको बलमा एलबीडब्लुको धरापमा पर्नु अघि ११० बलको सामना गर्दै चार चौकाको बलमा ६२ रन बनाए ।

पहिलो दिनको खेलको समाप्तिमा लाबुसेन १४९ बल खेल्दै ६७ रनमा र यस अघिका चार पारीमा १० रन मात्र बनाएका स्टिभ स्मिथ ३१ रनमा अविजित छन् । लाबुसेन र स्मिथले तेश्रो विकेटका लागि अविजित ६० रनको साझेदारी गरेका छन् ।

भारतको तर्फबाट मोहम्मद सिराज र आजको खेलमा डेब्यु गरेका नवदिप साइनीले समान १-१ विकेट हात पारे ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलिया र दोश्रो टेस्ट भारतले समान ८-८ विकेट ले जित हात पारेका थिए ।

Click to comment

Trending