Headline

एक विकेट मात्र हात पारे पनि सन्दिपको किफायती बलिङ

Published

on

बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको नवौं तथा आफ्नो तेश्रो खेलमा सिड्नी थन्डर विरुद्ध सामान्य प्रदर्शन गरेका छन् । आफ्नो पहिलो दुई खेलमा महँगो साबित भएका सन्दिपले आज किफायती बलिङ गर्दै चार ओभरमा २३ रन खर्चिएर सिड्नीका कप्तान कालम फर्गुसनको विकेट हात पारे ।

सन्दिपले आफ्नो पहिलो र तेश्रो ओभरमा समान ६-६ रन तथा आफ्नो दोश्रो ओभरमा चार रन खर्चिएर एक विकेट पनि हात पारे । उनले दोश्रो ओभरको चौथों बलमा सिड्नीका कप्तान कालम फर्गुसनलाई जोहान बोथाको हातबाट क्याच थमाउँदै विकेट लिन सफल भएका हुन् । आफ्नो चौथों तथा अन्तिम ओभरमा सात रन खर्चिएका सन्दिपले आज पहिलो र अन्तिम ओभरमा एक एक चौका खाए ।

अघिल्ला दुई खेलमा महँगो भए पनि सन्दिप दुबै खेलमा विकेट निकाल्न भने सफल भएका थिए । अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला दुई खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए ।

दुई खेलमा उनले तीन विकेट आफ्नो नाममा दर्ता गराउन सफल पनि भए । सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।

आजको खेलमा होबार्टले ब्याट फ्लिप जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । आठ खेल खेलेको होबार्ट १८ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको सिड्नी १९ अंक सहित दोश्रो स्थानमा छ । समान ५-५ खेल जिते पनि सिड्नीले दुई खेलमा तथा होबार्टले तीन खेलमा पराजय भोगेका छन् । आजको खेलमा जित हात पार्ने टोली पहिलो स्थानमा उक्लने छ ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने होबार्ट माथि सिड्नी हाबी रहेको छ । सिड्नीले तीन खेलमा जित दर्ता गराउँदा होबार्टले दुई खेल आफ्नो पक्षमा पार्न सकेको थियो । गत संस्करणमा तीन पटक भिड्दा सिड्नीले दुई तथा होबार्टले एक खेल जितेका थिए ।

Click to comment

Trending