Headline

सन्दिपकको टोली होबार्ट आज सिड्नीसँग भिड्दै 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको आफ्नो नवौं खेलमा सिड्नी थन्डरको सामना गर्दैछ । खेल नेपाली समय अनुसार १२:५५ बजे सुरु हुनेछ ।

आठ खेल खेलेको होबार्ट १८ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको सिड्नी १९ अंक सहित दोश्रो स्थानमा छ । समान ५-५ खेल जिते पनि सिड्नीले दुई खेलमा तथा होबार्टले तीन खेलमा पराजय भोगेका छन् ।

पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने होबार्ट माथि सिड्नी हाबी रहेको छ । सिड्नीले तीन खेलमा जित दर्ता गराउँदा होबार्टले दुई खेल आफ्नो पक्षमा पार्न सकेको थियो । गत संस्करणमा तीन पटक भिड्दा सिड्नीले दुई तथा होबार्टले एक खेल जितेका थिए ।

अष्ट्रेलियाको सरकारको १४ दिन अनिवार्य क्वारेन्टिन बस्नै पर्ने नियमका कारण होबार्टका सुरुवाती छ खेल गुमाएका सन्दिपले पछिल्ला दुई खेलमा सुरुवाती ११ मा स्थान बनाउन सफल भएका थिए । दुई खेलमा उनले तीन विकेट आफ्नो नाममा दर्ता गराउन सफल पनि भए । आफुले खेलेका दुई खेलमा महँगो साबित भए पनि सन्दिपले आजको खेलमा पनि सुरुवाती ११ मा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

सन्दिपले आफ्नो पुर्व क्लब मेलबर्न स्टार्स विरुद्धको दुई खेल मध्य पहिलोमा दुई तथा दोश्रोमा एक विकेट लिएका थिए । दुबै खेलमा महँगो साबित भएका सन्दिपले पहिलो खेलमा ३८ तथा दोश्रो खेलमा ३६ रन खर्चिएका थिए । दोश्रो खेलमा सुरुका दुई ओभरमा मात्र पाँच रन खर्चिएका सन्दिपले पछिल्ला दुई ओभरमा ३१ रन खर्चन पुगे ।

Click to comment

Trending