Headline

श्रीलंका विरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप

Published

on

घरेलु टोली दक्षिण अफ्रिकाले श्रीलंका विरुद्धको टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ । दोश्रो तथा अन्तिम टेस्टमा श्रीलंका माथि १० विकेटको फराकिलो जित दर्ता गराएको दक्षिण अफ्रिकाले दुई खेलको शृंखला २-० ले आफ्नो पक्ष्यमा पार्न सफल भएको हो । सेंचुरियनमा भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले एक पारी र ४५ रनले जित हात पारेको थियो ।

श्रीलंकालाई दोश्रो पारीमा २११ रनमा रोक्दै ६७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १३ दशमलब दुई ओभर खेल्दै बिना विकेट गुमाएर जित दर्ता गरायो ।

दक्षिण अफ्रिकाको जितमा दोश्रो पारीमा अविजित रहेका एडेन मार्क्रमले ३६ तथा डिन एल्गरले ३१ रनको पारी खेले ।

एंरिच नोर्किएले छ विकेट हात पार्दा यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंका ४० दशमलब तीन ओभर खेल्दै १५७ रनमा समेटिन पुग्यो ।

१४ दशमलब तीन ओभर बलिङ गरेका नोर्किएले एक मेडन सहित ५६ रन खर्चिएर छ विकेट हात पारेका हुन् । उनी बाहेक वियान मुलदारले तीन तथा लुथो सिपाम्लाले पनि एक विकेट हात पारे ।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ६० रन बनाए भने हसरंगा डि सिल्भा र दुश्मन्था चमिराले पनि क्रमश २९ र २२ रनको योगदान दिए ।

श्रीलंकालाई १५७ रनमा रोकेको दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा ७५ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ३०२ रन बनाउन सक्यो र पहिलो पारीमा १४५ रनको अग्रता लियो ।

दक्षिण अफ्रिकाको लागि खेलको म्यान अफ द म्याच तथा प्लेयर अफ द सिरिज घोषित ओपनर डिन एल्गर १२७ रन । १६३ बलको सामना गरेका उनले दोश्रो विकेटका लागि ६७ रनको पारी खेलेका रस्सी भान ड़र डस्सेनसँग १८४ रन जोड्दै दक्षिण अफ्रिकाको जितको आधार तय गरे ।

दोश्रो दिनको खेलमा दक्षिण अफ्रिकाको पारी ध्वस्त पार्ने क्रममा विश्वा फर्नान्डोले सर्वाधिक पाँच विकेट हात पारे भने असिथा फर्नान्डो र दसुन शनाकाले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

पहिलो पारीमा दक्षिण अफ्रिका भन्दा १४५ रनले पछि परेको श्रीलंकाले दोश्रो पारीमा कप्तान दिमुथ करुनारत्नेको शतकको बाबजुद २११ रनमा समेटियो र ६६ रनको झिनो अग्रता मात्र कायम गर्न सक्यो ।

आजको खेल ९१ रनको ब्यतिगत स्कोरबाट सुरु गरेका कप्तान करुनारत्ने १२ रन जोड्दै पेभेलियन फर्किए पछि श्रीलंकाको पारी ध्वस्त हुन पुगेको हो ।

दोश्रो पारीमा श्रीलंकालाई सस्तोमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका लुंगी एनगिदीले सर्वाधिक चार विकेट हात पारे भने लुथो सिपम्लाले तीन तथा एंरिच नोर्किएले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending