Headline

खराब सुरुवातका बाबजुद विलियमसनको शतकमा न्युजिल्याण्ड हाबी 

Published

on

आफ्नो पहिलो पारीमा खराब सुरुवात गरे पनि कप्तान केन विलियमसन र हेनरी निकोल्सले २०० रनको साझेदारी गर्दा घरेलु टोली न्युजिल्याण्ड पाकिस्तान विरुद्धको दोश्रो टेस्टको दोश्रो दिनको खेलमा हाबी हुन पुगेको छ ।

पाकिस्तानले पहिलो पारीमा बनाएको २९७ रन पक्ष्याएको न्युजिल्याण्डले दोश्रो दिनको खेलको समाप्तिमा ८५ ओभर खेल्दै तीन विकेट गुमाएर २८६ रन बनाएको छ र पाकिस्तान भन्दा ११ रनले पछि रहेको भए पनि उसको हातमा अझै सात विकेट बाँकी छ ।

७१ रनको अवस्थामा तीन विकेट गुमाए पनि विलियमसन र निकोल्सले अविजित २१५ रनको साझेदारी गर्दै न्युजिल्याण्डको पारी सम्हाले । दोश्रो दिनको खेलको समाप्तिमा १७५ बलको सामना गरेका विलियमसन ११२ रनमा तथा निकोल्स १८६ बलमा ८९ रन जोड्दै अविजित रहेका छन् ।

टेस्ट क्रिकेटमा विलियमसनको यो २४ औं शतक हो भने लगातार तेश्रो शतक हो । विलियमसनले पाकिस्तान विरुद्धको नै पहिलो टेस्टमा १२९ रन बनाएका थिए भने वेस्ट इण्डिज विरुद्धको टेस्टमा २५१ रनको विशाल पारी खेलेका थिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तिमा आफ्ना सबै विकेट गुमाएर मात्र २९७ रन बनाउन सकेको थियो ।

खराब सुरुवात गरेको पाकिस्तानको लागि शतक बनाउन चुकेका अजर अली र कप्तान मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा पहिलो दिनको खेलमा नै अल आउट हुन पुगेको हो ।

पाकिस्तानका ओपनरद्वय शान मसूद शुन्य, अबिद अली २५, ह्यारिस सोहेल एक तथा अघिल्लो खेलमा शतक प्रहार गरेका फवाद आलम दुई रनमा आउट हुँदा पुर्व कप्तान अजर अली र कप्तान रिजवानले क्रमश ९३ र ६१ रन जोड्दै पाकिस्तानको पारी सम्हाले । १७२ बलमा १२ चौका प्रहार गरेका अली र ७१ बलमा ११ चौका प्रहार गरेका रिजवानले चौथों विकेटका लागि ८८ रनको साझेदारी गरे ।

अली र रिजवान बाहेक फहीम अश्रफ र जाफर गोहरले पनि क्रमश ४८ र ३४ रनको पारी खेले ।

पाकिस्तानलाई पहिलो पारीमा सस्तैमा समेट्ने क्रममा न्युजिल्याण्डका कायल जामीसनले २१ ओभर बलिङ गर्दै आठ मेडन ओभर सहित ६९ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने ट्रेन्ट बोल्ट र टिम साउथीले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

दुई टेस्ट खेलको शृंखलामा न्युजिल्याण्ड १-० ले अघि रहेको छ । यस अघि सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तान माथि १०१ रनको रोमान्चक जित दर्ता गराएको थियो ।

Click to comment

Trending