Headline

नोर्किएको घातक बलिङमा श्रीलंका निरीह   

Published

on

तिब्र गतिका बलर एंरिच नोर्किएको घातक बलिङ र डिन एल्गरको अर्धशतकको मद्धतमा श्रीलंका विरुद्धको दोश्रो टेस्टको पहिलो दिनको खेलमा नै घरेलु टोली दक्षिण अफ्रिकाले आफ्नो पकडमा राख्न सफल भएको छ ।

पहिलो पारीमा श्रीलंकालाई १५७ रनमा समेटेको दक्षिण अफ्रिकाले पहिलो दिनको खेलको समाप्तीमा आफ्नो पहिलो पारीमा १४८ रन बनाएको छ र मात्र नौं रनले पछि रहेको छ ।

ओपनर ऐडेन मार्क्रमलाई पाँच रनमा गुमाएर खराब सुरुवात गरे पनि दक्षिण अफ्रिकाका अर्का ओपनर डिन एल्गरले अविजित रहँदै ९२ रन तथा दिनको खेलको समाप्तीमा अविजित रहेका रस्सी भान ड़र डस्सेनले ४० रन जोड्दा दक्षिण अफ्रिकाले पहिलो पारीमा ३७ ओभर खेल्दै एक विकेटको नोक्सानीमा १४८ रन जोडीसकेको छ । एल्गर र डस्सेनले दोश्रो विकेटका लागि अविजित ११४ रनको साझेदारी गरेका छन् ।

यस अघि एंरिच नोर्किएले छ विकेट हात पार्दा श्रीलंका ४० दशमलब तीन ओभर खेल्दै १५७ रनमा समेटिन पुग्यो ।

१४ दशमलब तीन ओभर बलिङ गरेका नोर्किएले एक मेडन सहित ५६ रन खर्चिएर छ विकेट हात पारेका हुन् । उनी बाहेक वियान मुलदारले तीन तथा लुथो सिपाम्लाले पनि एक विकेट हात पारे ।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ६० रन बनाए भने हसरंगा डि सिल्भा र दुश्मन्था चमिराले पनि क्रमश २९ र २२ रनको योगदान दिए ।

आफ्नो दोश्रो विकेट ७१ रनको अवस्थामा गुमाएको श्रीलंका त्यस पछि भने सम्हालिन सकेन । त्यस पछि बलरद्वय डि सिल्भा र चमिराले आठौँ विकेटका लागि ३९ रन जोडे ।

दुई खेलको शृंखलामा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ । यस अघि सेंचुरियनमा भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले एक पारी र ४५ रनले जित हात पारेको थियो ।

Click to comment

Trending