Headline

प्रदेश १ लाई पिएम कपको उपाधि 

Published

on

एपीएफ माथि छ रनको सनसनीपूर्ण जित निकाल्दै प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

दाङको लमहीमा जारी प्रतियोगिताको फाइनलमा १०६ रनको लक्ष्य पक्ष्याएको एपीएफलाई ९९ रनमा रोक्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ ले उपाधि चुमेको हो ।

एपीएफलाई रोक्ने क्रममा कप्तान रुबिना क्षेत्री र अलिशा खड़ियाले ४-४ ओभर बलिङ गर्दै क्रमश १४ र १३ रन खर्चिएर समान २-२ विकेट हात पारे भने संगीता राईले पनि एक विकेट आफ्नो नाममा दर्ता गराउन सफल भइन् ।

एपीएफको तर्फबाट ममता चौधरीले सर्वाधिक ३४, करुणा भण्डारीले अविजित २६ तथा ओपनर ज्योती पाण्डेले १४ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन पर्याप्त रहेन ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १०५ रन बनायो ।

उसको लागि ओपनरद्वय अप्सरी बेगम र रुबिनाले क्रमश ३४ र १८ रन बनाए भने अविजित रहेकी काजल श्रेष्ठले पनि २९ रनको पाऱी खेलिन् ।

एपीएफको तर्फबाट सिता राना मगरले सर्वाधिक तीन विकेट हात पार्दा करुणा भण्डारीले एक विकेट आफ्नो नाममा दर्ता गर्न सफल भइन् ।

हिजो सम्पन्न सेमीफाइनलमा प्रदेश १ ले लुम्बिनी माथि १० विकेटको फराकिलो जित दर्ता गर्दै तथा एपीएफले लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

समुह ए को विजेता एपीएफले कर्णाली प्रदेशलाई २०४ रनले, प्रदेश २ लाई आठ विकेटले तथा लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेको थियो । त्यस्तै समुह ए को उपविजेता लुम्बिनीले प्रदेश २ र कर्णाली प्रदेशलाई समान ९-९ विकेटले पराजित गरेको थियो भने एपीएफसँग ६१ रनले पराजित हुन पुगेको थियो ।

त्यस्तै समुह बि को विजेता टोली प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले, सुदुर पश्चिमलाई पाँच विकेटले तथा गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको थियो । समुह बि को उपविजेता सुदुर आफ्नो दोश्रो खेलमा प्रदेश १ सँग पाँच विकेटले पराजित भए पनि पहिलो खेलमा गण्डकीलाई ५९ रनले र तेश्रो खेलमा बागमतीलाई २८ रनले पराजित गर्दै सेमीमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।

Click to comment

Trending