Headline

जेमीसनले घातक बलिङ गर्दा पाकिस्तान पहिलो दिनमा नै अलआउट

Published

on

घरेलु टोली न्युजिल्याण्डका कायल जेमीसनले घातक बलिङ गर्दा पाकिस्तान दोश्रो टेस्टको पहिलो दिनको खेलमा नै आफ्नो पहिलो पारीमा अलआउट हुन पुगेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनको खेलको समाप्तिमा आफ्ना सबै विकेट गुमाएर मात्र २९७ रन बनाउन सक्यो ।

खराब सुरुवात गरेको पाकिस्तानको लागि शतक बनाउन चुकेका अजर अली र कप्तान मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा पहिलो दिनको खेलमा नै अल आउट हुन पुगेको हो ।

पाकिस्तानका ओपनरद्वय शान मसूद शुन्य, अबिद अली २५, ह्यारिस सोहेल एक तथा अघिल्लो खेलमा शतक प्रहार गरेका फवाद आलम दुई रनमा आउट हुँदा पुर्व कप्तान अजर अली र कप्तान रिजवानले क्रमश ९३ र ६१ रन जोड्दै पाकिस्तानको पारी सम्हाले । १७२ बलमा १२ चौका प्रहार गरेका अली र ७१ बलमा ११ चौका प्रहार गरेका रिजवानले चौथों विकेटका लागि ८८ रनको साझेदारी गरे ।

अली र रिजवान बाहेक फहीम अश्रफ र जाफर गोहरले पनि क्रमश ४८ र ३४ रनको पारी खेले ।

पाकिस्तानलाई पहिलो पारीमा सस्तैमा समेट्ने क्रममा न्युजिल्याण्डका कायल जेमीसनले २१ ओभर बलिङ गर्दै आठ मेडन ओभर सहित ६९ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने ट्रेन्ट बोल्ट र टिम साउथीले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

दुई टेस्ट खेलको शृंखलामा न्युजिल्याण्ड १-० ले अघि रहेको छ । यस अघि सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तान माथि १०१ रनको रोमान्चक जित दर्ता गराएको थियो ।

Click to comment

Trending