Headline

सन् २०२० को क्रिकेटका बिवादास्पद क्षणहरु

Published

on

सन् २०२० को बर्ष कोरोना भाइरसका कारण सबै खेलकुद गतिविधि ठप्प हुन पुग्यो । त्यसमा क्रिकेट पनि अछुतो हुन सकेन । फेब्रुवरी र मार्चबाट प्राय सबै प्रतियोगिता र शृंखलाहरु रद्ध हुन पुगे ।

अगष्टमा इंग्ल्यान्डले वेस्ट इन्डिज र पाकिस्तानलाई आफ्नो घरेलु मैदानमा खेलाए पछि फर्किएको अन्तर्राष्ट्रिय क्रिकेट त्यस पछि क्यारेबियन प्रिमियर लिग, इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगका बाँकी खेलहरु सुरु भए भने अहिले प्राय सबै देशहरु क्रिकेटमा ब्यस्त भइसकेका छन् ।

सन् २०२० मा थोरै नै खेलहरु भए पनि केहि खेल र निर्णयहरु विवादास्पद बन्न पुगे जुन पत्रपत्रिका, टेलिभिजन र अनलाइनहरुका हेडलाइन बन्न पुगे । यसै सन्दर्भमा हामीले आज सन् २०२० मा भएका केहि त्यस्ता विवाद भएका खेलहरु लिएर आएका छौ ।

कन्कुसन सब्स्टिच्युट

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले पहिलो ट्वान्टी ट्वान्टी खेलमा कन्कुसन सब्स्टिच्युटको विकल्प प्रयोग गर्यो । भारतले उक्त खेलमा पहिले ब्याटिङ गरेको थियो । आफ्नो पहिलो पारीको अन्तिम ओभरमा रविन्द्र जडेजाले ब्याटिङ गर्दै गर्दा बलले उनको हेल्मेटमा लग्यो । तत्कालै भारतीय टोलीका फिजियोले आएर उनको जाँच गरे र खेल्न सक्ने भने पछि जडेजाले बाँकी बल ब्याटिङ पनि गरे ।

तर विवाद त्यहाँ शुरु भयो जब भारतले कन्कुसन सब्स्टिच्युटको प्रयोग गर्दै युज्भेन्द्र चाहाल बलिङ गर्न पठायो । उक्त खेलमा चाहालले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर तीन विकेट हात पारे भने म्यान अफ द म्याच पनि घोषित भए ।

जडेजा अलराउण्डर भएपनि आईसिसिको नियम अनुसार सब्स्टिच्युटका लागि एकै प्रकृतिका खेलाडी हुनु पर्ने भएकाले भारतले जिन्युज स्पिनर पठाएकोले खुबै आलोचनाको सामना गर्यो । तर भारतले प्रतियोगित अघि नै दिएको प्लेयिङ्ग स्क्वाडमा सबैभन्दा नजिकका कन्कुसन सब्स्टिच्युटको हकदार चाहल नै थिए ।

किंग्स ११ पन्जाबको सर्ट रन

यसै सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो खेलमा किंग्स ११ पन्जाबले १५८ रनको लक्ष्य पक्ष्याउन नसके पछि खेल बराबरी भयो र दिल्ली क्यापिटल्सले सुपर ओभरमा खेल जित्दै महत्वपूर्ण दुई अंक जोड्न सफल भयो ।

तर पन्जाबको ब्याटिङका क्रममा अम्पायरको एउटा निर्णय विवादको विषय बन्न पुग्यो । अन्तिम ओभरमा पन्जाबले लिएको रनलाई लेग अम्पायरले सर्ट रन भन्दै उक्त रन अयोग्य घोषणा गरिदिए । उक्त एक रनका कारण पन्जाबले खेल बराबरीमा टुंगाउन पुग्यो । यसैको प्रतिवाद स्वरुप पन्जाबले यस निर्णय विरुद्ध उजुरी नै दिएको थियो ।

रोहितको स्वस्थ स्थिति बार अस्पष्टता

आईपीएलका क्रममा रोहित शर्माको चोटले पनि लामो समयसम्म नै हेडलाइन बनायो । भारतले अष्ट्रेलिया भ्रमणका लागि नाम घोषणा गर्यो । उक्त टोलीमा रोहितको नाम थिएन । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले रोहित ह्यामस्ट्रिंङको चोटले खेल्न नसक्ने भएका कारण टोलीमा अटाउन नसकेको जनायो । तर केहि खेल गुमाएका शर्माले पछिल्ला खेलहरु खेल्दै आफ्नो टोली मुम्बई इन्डियन्सलाई च्याम्पियन नै बनाए ।

पछि बिसीसीआईले उनी पूर्ण फिट नभएकाले गर्दा ट्वान्टी ट्वान्टी र एकदिवसीय शृंखलामा खेल्न नसक्ने भए पनि टेस्टमा समवेस गर्यो । तर अष्ट्रेलियाको क्वारेन्टिन नियमले गर्दा उनले पछिका दुई टेस्टमा खेल्न पाउने पनि बिसीसीआईले जनायो । भारतीय टोलीका कप्तान बिराट कोहलीले पनि शर्माको चोटको अवस्था बारे अस्पष्ट भएकोमा दुखेसो पोखेका थिए ।

सुरेश रैनाको आईपीएलबाट नाम फिर्ता लिने निर्यण

कोरोनाका कारण बिसीसीआईले आईपीएल भारतमा गराउन नसक्ने भन्दै युएईमा प्रतियोगिता सार्ने निर्णय गर्यो । बायो–बबल वातावरणका कारण चेन्नाई सुपर किंग्सको टोली नै विवादमा आयो । चेन्नाईले आफ्नो टोलीको बन्द प्रशिक्षण भारतमा आयोजना गर्यो । भारतमा नै रहँदा खेलाडीहरुको कोरोना परिक्षण गर्यो । जब टोलीको रिपोर्ट नेगेटिभ आयो तब सबै टोली युएई गयो । तर युएईमा केहि दिनको क्वारेन्टिन बिताएर फेरी परिक्षण गर्दा केहि खेलाडी र टोलीका सदस्यहरुमा कोरोना संक्रमण देखियो ।

त्यस पछि रैनाले एकाएक आईपीएलबाट आफ्नो नाम फिर्ता लिदै भारत फर्किए । रैना भारत फर्किए पछि चेन्नाईका मालिक एन श्रीनिभासन र रैनाबीच मतभेद सुरु भयो र यसले समर्थक र पत्रकार बीच ठुलै स्थान पनि पायो ।

मोहम्मद आमिरको सन्यास

पकिस्तान टोलीका तिब्र गतिका बलर मोहम्मद आमिरले अचानक अन्तार्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । न्युजिल्याण्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा आफुलाई समावेश नगरे पछि उनले सन्यास लिने निर्णय गरेका थिए ।

कुनै पनि खेलाडीले सन्यास घोषणा गर्नु सामान्य मान्न सकिन्छ । तर उनले दिएको अभिब्यक्तिले भने ठुलै हलचल मच्चायो । उनले पाकिस्तान क्रिकेट बोर्डले आफुलाई मानसिक तनाब दिएका कारण टेस्टबाट पहिले नै सन्यास घोषणा गरेको र अहिले पनि त्यो नरोकिएका कारण सबै अन्तार्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

स्मरण रहोस्, २८ बर्षिय आमिरले सन् २०१० मा इंग्ल्यान्ड विरुद्धको टेस्टका क्रममा स्पट फिक्सिङ गरेका कारण पाँच बर्षको प्रतिबन्ध पनि खेपेका थिए ।

सुर्य कुमार यादव र विराट कोहली बीचको घुराई

१३ औं संस्करणको आईपीएलमा मुम्बई इन्डियन्सका मध्यक्रमका व्याट्स्म्यान सुर्य कुमार यादवले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । तर उनको ब्याटिङको भन्दा पनि रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान बिराटसँगको घुराईले बढी चर्चा पायो ।

बेंगलोर विरुद्धको खेलका क्रममा यादव राम्रो लयमा ब्याटिङ गर्दै थिए र १६५ रनको विजयी लक्ष्य पक्ष्याएको मुम्बईलाई जित तर्फ उन्मुख गराउँदै थिए । कोहली यादव भएको ठाउँ सम्म गए र बल चम्काउँदै यादव तिर घुर्न पुगे । यादवले पनि कोहलीलाई घुरे । तर यादवले आफ्नो दिमागलाई शान्त राख्दै मुम्बईलाई जित दिलाए ।

धेरैले उक्त घुराईलाई आ–आफ्नो ढंगबाट बर्णन र अड्कलबाजी गर्न पुगे । कोहि कोहलीले यादवको ध्यान खिचेर खेलबाट भड्काउन खोजेको अड्कलबाजी गर्दै थिए भने कसैले आईपीएलमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि अष्ट्रेलियाको भ्रमणमा आफ्नो नाम समावेश नगरेकाले यादवले यस्तो गरेको बर्णन गरे ।

 

Click to comment

Trending