Headline

होल्डर, पोलार्ड, चेज सहित १० वेस्ट इण्डिजका खेलाडीले लिए बंगलादेश भ्रमणबाट नाम फिर्ता 

Published

on

वेस्ट इण्डिजका टेस्ट कप्तान जेसन होल्डर र उपकप्तान रोस्टन चेज तथा एकदिवसीय र ट्वान्टी ट्वान्टी कप्तान काइरन पोलार्ड सहित १० जना खेलाडीले वेस्ट इण्डिजको बंगलादेश भ्रमणबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

होल्डर, चेज र पोलार्ड बाहेक ड्यारेन ब्राभो, शमार्ह ब्रोक्स, शेल्डन कोट्रेल, एभिन लेविस, शे होप, शिम्रोन हेटमायर र निकोलस पुरनले पनि बंगलादेश भ्रमण नगर्ने भन्दै आफ्नो नाम फिर्ता लिएका हुन् । उनीहरु सबैले कोरोनाका कारण भ्रमण नगर्ने जनाएका हुन् ।

त्यस्तै अलराउण्डर फबियन एलेन र विकेट-किपर शेन डोवरिचले पनि ब्यतिगत कारण देखाउँदै बंगलादेश नजाने वेस्ट इण्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ ।

होल्डरको अनुपस्थितिमा क्रेग ब्राथवैटले टेस्ट टोलीको कप्तानी गर्नेछन् भने पोलार्डकको स्थानमा जेसन मोहम्मदले एकदिवसीय टोलीको नेतृत्व गर्नेछन् । सन्  २०१८ मा बंगलादेश भ्रमणमा पनि ब्राथवैटले नै वेस्ट इण्डिज टोलीको कप्तानी गरेका थिए । एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी पाएका मोहम्मदले पछिल्लो पटक सन् २०१८ मा वेस्ट इण्डिजको तर्फबाट बंगलादेश विरुद्ध नै खेलेका थिए ।

वेस्ट इण्डिजले कोरोनाका कारण आफ्ना खेलाडीहरुलाई भ्रमण गर्न नचाहेको खण्डमा छुट दिएको छ भने यसले भविष्यमा पनि छनोटका लागि कुनै असर नपर्ने जनाएको छ ।

वेस्ट इण्डिजले बंगलादेश भ्रमणका क्रममा तीनवटा एकदिवसीय खेल र दुईवाट टेस्ट खेलको शृंखला खेल्ने छ ।  एकदिवसीय खेल जनावरी २०, २२ र २५ तारिकमा हुनेछ भने पहिलो टेस्ट तीन तथा दोश्रो टेस्ट ११ तारिकबाट सुरु हुनेछ ।

Click to comment

Trending