Headline

युनाइटेडको प्रिमियर लिगमा कमब्याक, अंक तालिकाको दोश्रो स्थानमा उक्लियो

Published

on

सिजनको खराब शुरुवातलाई पछाडी छोड्दै म्यानचेस्टर युनाइटेड इङ्गलिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । मङ्गलवार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।

जितपछि युनाइटेड अंक तालिकामा शिर्ष स्थानको लिभरपुलभन्दा मात्र दुई अंकले पछाडी रहेको छ । एलेक्स फर्गुसनले व्यवस्थापकको रुपमा सन्यास लिएपछि युनाइटेड अंक तालिकाको शिर्ष स्थानसँग यति नजिक रहेको पहिलो पटक हो । समान १५ खेलपछि लिभरपुलको ३२ र युनाइटेडको ३० अंक रहेको छ । लेस्टर सिटी र एभर्टन समान २९ अंकका साथ क्रमश तेश्रो र चौथो स्थानमा रहेका छन् ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको लागि बिजयी गोल मार्कस रासफोर्डले ब्रुनो फर्नान्डेजको असिस्टमा इन्जुरी समयको तेश्रो मिनेटमा गरेका थिए । बराबरीतर्फ गइरहेको खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई दोश्रो स्थानमा पुर्याएपनि रासफोर्डले अहिले नै उपाधिको बारेमा सोच्नु उचित नभएको बताए ।

“अहिले नै त्यति परसम्म हेर्नु ठिक होइन । हामी आफै सुधारमा धेरै काम गर्दै आइरहेको कारण अहिले नै शिर्ष स्थानमा हेर्नु केही मुर्खता हो । हामी एक पटकमा एक खेल हेर्नेछौं र जित्दै गएपछि हेरौं सिजनको अन्त्यसम्म कहाँ हुनेछौं,” रासफोर्डले भने ।

च्याम्पियन्स लिगमा समुह चरणबाटै बाहिरिनुका साथै लिगको शुरुवातमा निकै खराब शुरुवात गर्दै दवाबमा आएका युनाइटेड व्यवस्थापक ओल गुनार सोल्सायरले आफू उपाधिको बिषयमा सोच्ने मनसायमा नरहेको बताउछन् ।

“जम्मा १५ खेलपछि उपाधिको दौडको बिषयमा कुनै कुरा हुदैन । ३० खेलसम्म पुगौं त्यसपछि केही सोचौला । अहिलेको लागि हामीलाई आफैमा बिश्वास हुन आवश्यक छ । आजको जित हाम्रो एटिच्युडको लागि राम्रो आत्मबिश्वास जगाउने माध्यम बनेको छ,” सोल्सायरले भने ।

मङ्गलवार नै भएका अन्य खेलमा आर्सनलले ब्राइटनलाई १–० ले हराउदै लगातार दोश्रो जित हात पार्यो । आर्सनल १६ औं बाट १३ औं स्थानमा उक्लिएको छ । यस्तै लिड्स युनाइटेडले वेष्ट ब्रोमलाई ५–० ले हरायो भने बर्नलीले सेफिल्ड युनइटेडलाई १–० ले पराजित गर्यो । साउथ्याम्प्टन र वेष्ट ह्यामले भने गोलरहित बराबरी खेलेका छन् ।

Click to comment

Trending