Headline

पहिलो टेस्टमा लज्जास्पद हार व्यहोरेको भारतको दोश्रो टेस्टमा सहज जित 

Published

on

कप्तान अजिंक्य रहानेको शतक र बलरहरु जस्प्रित बुम्रा, मोहम्मद सिराज र रविचन्द्रन अश्विनको घातक बलिङको मद्धतमा घरेलु टोली अष्ट्रेलिया विरुद्धको दोश्रो टेस्टमा भारतले आठ विकेटको सहज जित दर्ता गराएको छ । यससँगै चार टेस्टको शृंखला १-१ को बराबरीमा रहेको छ ।

भारतले दोश्रो पारीमा अष्ट्रेलियालाई २०० रनमा रोक्दा ७० रनको सामान्य लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले १५ दशमलब पाँच ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित हात पारेको हो ।

भारतको जितमा दोश्रो पारीमा शुबमन गिलले सर्वाधिक ३५ रन बनाए भने कप्तान अजिंक्य रहानेले पनि २७ रनको पारी खेले । ओपनर मायंक अगरवाल पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका चेतेश्वर पुजारा तीन रनमा आउट भए पनि गिल र रहानेले तेश्रो विकेटका लागि अविजित ५१ रन जोड्दै भारतलाई जित दिलाएका हुन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ७२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको भारतले ३२६ रन बनाउँदै १३१ रनको अग्रता लिन सफल भयो । पहिलो पारीमा भारत भन्दा १३१ रनले पछि परेको अष्ट्रेलियाले दोश्रो पारीमा १०३ दशमलब एक ओभर खेल्दै २०० रनमा समेटिन पुग्यो ।

चौथों दिनको खेल छ विकेटको नोक्सानीमा १३३ रनको स्थितिबाट सुरु गरेको अष्ट्रेलियाले ६७ रन जोड्दा आफ्ना सबै विकेट गुमाउन पुग्यो ।

अष्ट्रेलियाको तर्फबाट दोश्रो पारीमा क्यामरुन ग्रिनले सर्वाधिक ४५ रन बनाए भने ओपनर म्याथ्यु वेडले पनि ४० रनको पारी खेले । त्यस्तै मार्नस लाबुशनले २८, प्याट कमिन्सले २२ तथा मिचेल स्टार्कले अविजित १४ को योगदान दिए ।

दोश्रो पारीमा अष्ट्रेलियालाई रोक्ने क्रममा  मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए भने रविन्द्र जडेजा जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले समान २-२ विकेट हात परे भने उमेश यादवले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

भारतको तर्फबाट पहिलो पारीमा कप्तान रहानेले २२३ बल खेल्दै सर्वाधिक ११२ रन बनाएर रन आउट हुन पुगे । १७३ रनमा पाँच विकेट गुमाएको भारतको पारी सम्ह्लाने क्रममा रहानेले छैठौं विकेटका लागि १५९ बलमा ५७ रन बनाएका रविन्द्र जडेजासँग १२१ अविजित १०४ रन जोड्न सफल भए ।

भारतका अन्य ब्याट्सम्यानहरुमा यस टेस्टबाट डेब्यु गरेका शुबमन गिल ४५, चेतेश्वर पुजारा १७, हनुमान विहारी २१ तथा विकेट किपर ब्याट्सम्यान रिशब पन्त २९ रन बनाएरा आउट भए भने हिजो नै पहिलो पारी सुरु गरेको भारतका ओपनर मायंक अगरवाल रनको खाता न खोली आउट भएका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र न्याथन लायनले समान ३-३ विकेट लिए भने कमिन्सले पनि दुई विकेट हात पारे।

यस अघि जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले मात्र ७२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १९५ रन बनाउन सक्यो ।

अष्ट्रेलियाको तर्फबाट मार्नस लाबुसनले सर्वाधिक ४८ रन बनाए भने ट्राभिस हेड र म्याथ्यु वेडले पनि क्रमश ३८ तथा ३० रनको योगदान दिए । त्यस्तै १० औं नम्बरमा ब्याटिङ गर्न आएका न्याथन लायनले पनि २० रनको पारी खेल्न भ्याए । खराब सुरुवात गरेको अष्ट्रेलियाका ओपनर जो बर्न्स शुन्य रनमा आउट भए भने स्टिभ स्मिथले पनि रनको खाता खोल्न भ्याएनन् ।

अष्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा जस्प्रित बुम्राले सर्वाधिक चार विकेट लिए भने रविचन्द्रन अश्विनले पनि तीन विकेट हात पारे । त्यस्तै आजको खेलमा टेस्टमा डेब्यु गरेका मोहम्मद सिराजले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

अष्ट्रेलियासँगको पहिलो टेस्टको पहिलो पारीमा ४३ रनको अग्रता लिए पनि भारतले आठ विकेटको लज्जास्पद हारको सामना गरेको थियो ।  पहिलो पारीमा भारतले २४४ रन मात्र बनाउन सके पनि अष्ट्रेलियालाई १९१ रनमा रोक्दै ४३ रनको अग्रता लिन सफल भयो । तर भारतलाई उसको दोश्रो पारीमा मात्र ३६ रनमा अलआउट गरेको अष्ट्रेलियाले तेश्रो दिनमा नै ९० रनको लक्ष्य दुई विकेट गुमाएर पार गर्यो ।

Click to comment

Trending