Headline

चेल्सीको अंक गुमाउने श्रृंखला कायमै, सिटी–एभर्टन कोरोनाका कारण स्थगित

Published

on

इङ्गलिस प्रिमियर लिगमा चेल्सीको अंक गुमाउने श्रृंखला कायमै रहेको छ । सोमबार भएको खेलमा चेल्सी एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकियो ।

यसअघिको खेलमा आर्सनलसँग ३–१ ले पराजित चेल्सीले पछिल्लो पाँच प्रिमियर लिग खेलमा मात्र एकमा जित हात पार्न सकेको छ । भिल्लासँगै समान २६ अंक रहेको चेल्सी गोल अन्तरको आधारमा अंक तालिकाको छैटौं स्थानमा रहेको छ । तर उसले दुई खेल कम खेलेको छ ।

ओलिभर जिरुडको हेडर मार्फत खेलको ३४ औं मिनेटमा गोल गरेको चेल्सीलाई स्ट्यामफोर्ड ब्रिजमा डच फर्वार्ड अनवर अल गाजीले दोश्रो हाफमा गोल गर्दै बराबरीमा रोकेका थिए । ६९ औं मिनेटमा जोन म्याकगिनको प्रहार क्रसबारमा लाग्दा चेल्सीलाई गोल खानबाट बाल–बाल बचेको थियो ।

इन्जुरी समयमा बेन चिल्वेलेको उत्कृष्ट भलि केही इन्चले मात्र पोस्टबाट बाहिरिएको थियो । जिरुडले चेल्सीका लागि यो सिजन ९ गोल गरिसकेका छन् ।

आइतबार नै भएको अर्को खेलमा दोश्रो स्थानको लेस्टर सिटी क्रिष्टल प्यालेससँग १–१ गोलको बराबरी रोकियो । बराबरीपछि लेस्टरको लिभरपुलसँग मात्र एक अंकको दुरीमा रहने मौका गुमाएको छ । लिभरपुलको १५ खेलबाट ३२ अंक रहेको छ भने लेस्टरको १६ खेलबाट २९ ।

तेश्रो स्थानको एभर्टनको पनि २९ अंक रहेको छ । १४ खेलमात्रै खेलेको म्याचेस्टर युनाइटेड २७ अंक सहित चौथो स्थानमा रहेको छ । लेस्टरका लागि केलेची इनियाचोले १९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्ने मौका चुकेका थिए । प्यालेसले विल्फ्रेड जाहाको गोलमार्फत घरेलु मैदानमा ५८ औं मिनेटमा अग्रता बनायो तर हार्भी बार्नेसले ८३ औं मिनेटमा गोल गर्दै लेस्टरलाई हारबाट जोगाएका थिए ।

सोमबारकै लागि तय भएको म्यानचेस्टर सिटी र एभर्टबीचको खेल कोरोना भाइरसका धेरै केसहरु आएपछि स्थगित गरिएको थियो । सिटीको टोलीका धेरै जना कोभिड–१९ पोजिटिभ पाइएको बताइएको छ । क्रिष्मसकै दिन कायल वाकर र ग्याब्रियल जिजस सहित अन्य दुई टिम स्टाफमा कोरोना देखिएको बताएको थियो ।

Click to comment

Trending