Headline

साफ च्याम्पियनसिपको नयाँ मिति तय

Published

on

दक्षिण एसियाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको नयाँ मिति तय गरिएको छ ।

साफको कार्यसमितिको सोमबार बसेको बैठकले प्रतियोगिता सन् २०२१ को सेप्टेम्बर १४ देखि २५ सम्म गर्ने निर्णय गरेको हो । यसै बर्ष बंगलादेशमा हुनु पर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो ।

साफ च्याम्पियनसिप मात्र नभएर यो क्षेत्रका उमेर समूहका फुटबल प्रतियोगिताहरु पनि स्थगित हुन पुगेका थिए । सोमबारको बैठकले उमेर समुहका प्रतियोगिताको मिति पनि तय गरेको छ ।

अर्को वर्ष हुने एएफसी तथा विश्वकप क्वालिफायरका खेलहरु जुधेको खण्डमा मिति परिवर्तन भने हुन सक्नेछ ।

बैठकले साफ अण्डर–१६ महिला च्याम्पियनसिप २०२१ अगष्ट १८ देखि २७ सम्मका लागि तय गरेको छ भने  अण्डर–१९ महिला च्याम्पियनसिप जुलाई १३ देखि २२, साफ अण्डर–१५ अक्टोबर १ देखि १० र साफ अण्डर–१८ च्याम्पियनसिप अक्टोबर १५ देखि २४ सम्म गर्ने निर्णय भएको छ ।

बंगलादेशले साफ च्याम्पियनसिप आयोजना गर्ने पुर्व निर्णय अनुसार नै कायम रहे पनि उमेर समूहका प्रतियोगिताका आयोजक राष्ट्र तय भैसकेको छैन ।

पछिल्लो पटक २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिप को फाइनलमा  माल्दिभ्सले भारतलाई हराउदै उपाधि उचालेको थियो । सेमिफाइनल सम्मको यात्रा तय गरेको नेपाली टोली अन्तिम चारको खेलमा माल्दिभ्ससँगै पराजित भएको थियो ।

Click to comment

Trending