Headline

लुम्बिनी माथि एपीएफको फराकिलो जित 

Published

on

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ए को अन्तिम लिग खेलमा विभागीय टोली एपीएफले लुम्बिनी प्रदेश माथि ६१ रनको फराकिलो जित हात पारेको छ ।

यस अघि नै सेमीफाइनलमा प्रवेस गरेका एपीएफ र लुम्बिनी क्रमश समुह विजेता र उपविजेता भएका हुन् । एपीएफले समुह चरणका तीनवटै खेलमा जित दर्ता गराउँदा लुम्बिनीले दुई खेलमा जित निकाल्न सक्यो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १२२ रन बनायो ।

एपीएफको तर्फबाट अर्धशतक बनाउन चुकेकी ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन प्रहार गरिन् । नेरी थापाको बलमा बोल्ड हुनु अघि ज्योतिले ५४ बलको सामना गर्दै एक चौका प्रहार गरिन् ।

ज्योति बाहेक इन्दु बर्माले ३० बलमा २८ रन, ओपनर राजमती ऐरीले २५ बलमा ११ तथा सरिता मगरले छ बलमा अविजित १० रनको योगदान दिए ।

लुम्बिनीको तर्फबाट नेरीले सर्वाधिक दुई विकेट हात पार्दा सरस्वती पुन र कृतिका मरासिनीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

१२३ रनको लक्ष्य लिएर ब्याटिङमा आएको लुम्बिनीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानी ६१ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीको तर्फबाट लक्ष्मी चौधरीले सर्वाधिक ११ तथा सरस्वती पुनले अविजित १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा रोक्ने क्रममा करुणा भण्डारीले चार ओभरमा १६ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् । त्यस्तै सोनु खड्का र रेखा रावलले पनि १-१ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

Click to comment

Trending