Headline

करुणाको घातक बलिङमा कर्णाली माथि एपीएफको २०४ रनको फराकिलो जित

Published

on

कप्तान सीता राना मगरको अर्धशतक तथा करुणा भण्डारीको घातक बलिङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको दोश्रो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपीएफ विरुद्ध २०४ रनको लज्जास्पद हारको सामना गरेको छ ।

एपीएफले दिएको २३६ रनको विशाल लक्ष्य पक्ष्याएको कर्णालीले १४ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ३१ रन बनाउन सक्यो।

कर्णालीको तर्फबाट कप्तान लक्ष्मी रिमालले सर्वाधिक छ तथा दिक्षा पुरीले अविजित पाँच रन बनाए भने उसका पाँच जना ब्याट्सवोमनहरुले रनको खाता पनि खोल्न सकेनन् ।

कर्णालीलाई सस्तैमा रोक्ने क्रममा एपीएफकी करुणा भण्डारीले सर्वाधिक पाँच विकेट हात पारिन् भने राजमती ऐरीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गरिन् । करुणाले तीन दशमलब एक ओभर बलिङ गर्दै दुई मेडन ओभर सहित मात्र दुई रन खर्चिएर दुई विकेट हात पारिन् ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा २३५ रनको ठुलो स्कोर खडा गर्यो ।

एपीएफको तर्फबाट कप्तान सीता राना मगरले सर्वाधिक ६८ रनको पारी खेलिन् । ओपनिङमा आएकी सीताले ५९ बलको सामना गर्दै आठ चौका प्रहार गरिन् ।  उनले पहिलो विकेटका लागि ३२ रन बनाएकी ज्योती पाण्डेसँग ९७ तथा सरिता मगरसँग ९९ रनको साझेदारी गर्दै  एपीएफलाई विशाल योगफल तर्फ लान सफल रहिन् ।

एपीएफको लागि अविजित रहकी सरिता मगरले ३४ बलमा ४४ तथा इन्दु बर्माले १२ बलमा २२ रनको योगदन दिए ।

कर्णालीले ६७ रन त अतिरिक्त रन नै खर्चियो । उसका बलरहरुले ४१ वाइड र १८ नो बल गरे भने आठ रन बाई र लेग बाई मार्फत रन  खर्चिए ।  दिक्षा पुरीले चार ओभरमा ४२ रन खर्चिएर दुई विकेट निकाल्न सफल रहिन् ।

आज नै सम्पन्न पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ माथि नौं विकेटको सहज जित दर्ता गराएको थियो ।

Click to comment

Trending