Headline

अर्को उत्कृष्ट इनिङ्गस खेल्दै न्युजिल्याण्ड कप्तान केन विलियम्सन

Published

on

कप्तान केन विलियम्सनले अर्को उत्कृष्ट इनिङ्गस खेल्दै गर्दा न्युजिल्याण्डले पाकिस्तानबिरुद्धको पहिलो टेस्टको पहिलो दिन राम्रो पुनरागमन गरेको छ ।

बे ओभलमा टस हारी पहिलो ब्याटिङ्ग गरेको घरेलु टोलीले १३ रनमै दुई विकेट गुमाएपनि दिनको खेल समाप्तिमा मात्र अर्को एक विकेटको नोक्सानीमा २ सय २२ रन बनाएको छ । तिब्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले टम लाथम (चार) र टम ब्लन्डेल (पाँच) लाई सस्तैमा पेभिलियन फर्काएपछि न्युजिल्याण्ड दवाबमा आएको थियो ।

तर विलियम्सन एक पटक फेरि न्युजिल्याण्डको संकटमोचकको रुपमा अघि आए । उनले तेश्रो विकेटका लागि भेटेरान ब्याट्स्म्यान रोस टेलरसँग १ सय २० रनको साझेदारी गरे भने चौथो विकेटका लागि हेन्री निकोल्ससँग ८९ रन जोडिसकेका छन् ।

टेलरले १ सय ५१ ब्लको सामना गर्दै १० चौका र एक छक्का प्रहार । आइतबार दोश्रो दिनको खेल शुरु हुनअघि विलियम्सन आफ्नो २३ औं टेस्ट शतकबाट मात्र ६ रन टाढा रहदै खेल्ने छन् । निकै नै धैर्यतापुर्वक ब्याटिङ्ग गरेका विलियम्सनले २ सय ४३ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ९४ रन बनाएका छन् ।

विलियम्सनले यसअघि वेष्ट इण्डिजबिरुद्धको घरेलु टेस्टमा पनि करिअर बेस्ट २ सय ५१ रन बनाएका थिए । निकोल्सले ठ्याक्कै १ सय बलमा ४२ रन जोडेका छन् । पाकिस्तानको लागि तीन वटै विकेट अफ्रिदीले नै लिएका थिए ।

Click to comment

Trending