अन्तर्राष्ट्रिय

भारत र अष्ट्रेलिया बीचको दोश्रो टेस्ट भोलीबाट, गिल र सिराजले डेब्यु गर्दै 

Published

on

पहिलो टेस्टको पहिलो पारीमा ४३ रनको अग्रता लिए पनि आठ विकेटको लज्जास्पद हारको सामना गरेको भारतले भोलीबाट सुरु हुने दोश्रो टेस्टमा घरेलु टोली अष्ट्रेलियाको सामना गर्दैछ । मेलबर्नमा सुरु हुने टेस्ट नेपाली समय अनुसार बिहान ५:१५ बजे सुरु हुनेछ ।

चार खेलको शृंखलामा अष्ट्रेलिया १-० ले अघि रहेको छ । दोश्रो टेस्टमा जित निकाल्न सकेको खण्डमा अष्ट्रेलियाले कम्तिमा शृंखला गुमाउने छैन । भारत भने दोश्रो टेस्टमा जित दर्ता गर्दै शृंखलामा फर्कने आशामा रहेको छ ।

पहिलो टेस्टको पहिलो पारीमा भारतले २४४ रन मात्र बनाउन सके पनि अष्ट्रेलियालाई १९१ रनमा रोक्दै ४३ रनको अग्रता लिन सफल भयो । तर भारतलाई उसको दोश्रो पारीमा मात्र ३६ रनमा अलआउट गरेको अष्ट्रेलियाले तेश्रो दिनमा नै ९० रनको लक्ष्य दुई विकेट गुमाएर पार गर्यो ।

दोश्रो टेस्टमा भारतीय कप्तान विराट कोहलीको अनुपस्थितिमा अजिंक्य रहानेले टोलीको नेतृत्व गर्नेछन् । कोहली पिता बन्न लागेकाले गर्दा पहिलो टेस्ट पछि भारत फर्किएका छन् ।

भारतले दोश्रो टेस्टको लागि आफ्नो सुरुवाती ११ पनि घोषणा गरिसकेको छ । भारतका ओपनर शुबमन गिल र मोहम्मद सिराजले टेस्टमा डेब्यु गर्ने भएका छन् । सिराजले पहिलो टेस्टमा घाइते भएका मोहम्मद शामी तथा गिलले पृथ्वी शको स्थानमा सुरुवाती ११ मा स्थान बनाएका हुन् । त्यस्तै विकेट किपर रिशब पन्तले रिद्दिमन शाह र रविन्द्र जदेजाले कोहलीको स्थानमा खेल्ने भएका छन् ।

अचम्म लाग्दो विषय के छ भने भारतले कोहलीको अनुपस्थितिमा पनि दोश्रो टेस्टमा केएल राहुललाई खेलाएको छैन । पहिलो टेस्टमा पनि मौका नपाएका राहुल हालै युएईमा सम्पन्न इन्डियन प्रिमियर लिगमा तथा अष्ट्रेलिया विरुद्धको नै ट्वान्टी ट्वान्टी र एकदिवसीय शृंखलामा राम्रो प्रदर्शन गरेका थिए ।

भारतले यस अघि सन् २०१८ मा अष्ट्रेलिया भ्रमणमा एतिहासिक टेस्ट शृंखला माथि कब्जा जमाएको थियो । भारतले पहिलो पटक अष्ट्रेलिया माथि उसकै घरेलु मैदानमा पहिलो पटक टेस्ट शृंखला जितेको थियो । भारतले चार टेस्टको शृंखला २-१ ले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

पहिलो टेस्ट ३१ रनले जितेको भारतले दोश्रो खेलमा अष्ट्रेलियासँग १४६ रनको लज्जास्पद हारको सामना गरेको थियो भने तेश्रो टेस्ट १३७ रनले जितेको थियो । चौथों टेस्ट भने बराबरीमा टुंगियो ।

Click to comment

Trending