Headline

मोरङ्गलाई प्रदेश १ छनोटको उपाधि, मिनाष, रवि र मुकुन्दको उत्कृष्ट ब्याटिङ्ग

Published

on

मिनाष थापा, रवि रोय र मुकुन्द यादवले उत्कृष्ट ब्याटिङ्ग गरेपछि मोरङ्गले प्रदेश १ प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि जितेको छ । बिहिबार मोरङ्गले फाइनलमा सुनसीलाई १ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

कन्काइ मैदानमा भएको खेलमा टस जिति पहिलो ब्याटिङ्ग गरेको मोरङ्गले तीन ब्याट्स्म्यानको अद्र्धशतकको मद्दतमा ४० ओभरमा २ सय ९४ रनको बिशाल योगफल खडा गर्यो । जवाफमा दिपेश कँडेलले चार विकेट लिएपछि सुनसरी ३५ दशमलव २ ओभरमा १ सय ३१ रनमै अल आउट भयो ।

पहिलो विकेट ३४ रनमै गुमाएपछि मोरङ्गका लागि मिनाष र रविले दोश्रो विकेटमा ९३ रनको साझेदारी गरेका थिए । मिनाषले ६० बलमा ९ चौका र एकछक्काको मद्दतमा ६७ रन बनाए । मिनाष आउट भएपछि रविले मुकुन्दसँग तेश्रो विकेटका लागि १ सय ३१ रनको अर्को शान्दार साझेदारी गरेका थिए ।

रविले ९३ बलमा ९३ रन बनाउदै १० चौका र तीन छक्का प्रहार गरेका थिए ।मोरङ्गलाई बिशाल योगफलतर्फ धकेल्ने काम मुकुन्दले नै गरे । उनले ५३ बलमै ७ चौका र पाँच छक्काको मद्दतमा ८० रन ठोके । यस्तै सिद्दान्त लाहनीले १५ बलमा नटआउट २३ रन बनाए । सुनसरीका लागि भुपाल लुइटेलले दुई विकेट लिए ।

पहिलो पावरप्ले देखि नै विकेट गुमाउन थालेको सुनसरीले कुनै पनि समय मोरङ्गलाई चुनौति दिन सकेन । ८६ रनमै ६ विकेट गुमाएको सुनसरीका लागि ९नम्बरका ब्याट्स्म्यान राकेश सोनीले भुपाल (९) सँग ४५ रन जोड्दै खेललाई केही समयका लागि तन्काएका थिए ।

राकेशले ३१ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ३९ रन बनाए भने सरोज बस्नेतले ४९ बलमा सात चौका प्रहार गर्दै ३६ रन जोडेका थिए । दिपेशले ७ दशमलव दुई ओभरमा मात्र १४ रन खर्चदै चार विकेट लिए । यस्तै सिद्धान्त र सुभाँकर उरावले पनि २–२ विकेट झारेका थिए ।

Click to comment

Trending