Headline

एसी मिलानको अपराजित यात्रा कायमै

Published

on

थियो हर्नानडेजले ९० मिनेट पछि थपिएको इन्जुरी समयमा उत्कृष्ट हेडिङ गोल गरे पछि एसी मिलानले लाजियोलाई ३-२ ले हराएको छ । सान सिरोमा भएको खेलमा मिलानका लागि एन्टी रेबिच,हकान कलहाङ्ग्लु र हर्नानडेजले गोल गरेका थिए । लाजियोका लागि भने लुइस अल्बर्टाे र सिरो इम्मोबिलेले गोल गरेपनि हार टार्न सकेन ।

खेलको १० औँ मिनेटमै एसी मिलानका लागि एन्टी रेबिचले गोल गरेका थिए । कर्नरबाट आएको बललाई उनले हेडिङ गर्दै जाली चुमेको थियो । १७ औँ मिनेटमा मिलानका लागि फेरी हकान कलहाङ्ग्लुले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । २८ औँ मिनेटमा लाजियोका सिरो इमोबिल पेनाल्टीलाई मिलानका गोलरक्षक गिएन्लुइगी डोन्नरुम्माले बचाए पनि आएको बललाई रिबाउन्डमा हेडिङ गर्दै रोबर्टाेले गोल गर्दै खेललाई २–१ स्थितीमा ल्याएका थिए ।

दोस्रो हाफमा भने ५७ औँ मिनेटमा सिरो इम्मोविलेले गोल गर्दै लजियोलाई खेलमा २–२ को बराबरीमा ल्याएका थिए तर लगतार अक्रामक देखिएको मिलानका लागि इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा कलहाङ्ग्लुको कर्नरमा थियो हर्नान्डेजले ‘बुलेट हेडिङ’ मार्फत गोल गर्दै मिलानलाई रोमाञ्चक जित दिलाएका थिए ।

यो जितसँगै अपराजित रहँदै शीर्षस्थानमा रहेको मिलानको १४ खेलबाट ३४ अंक पुगेको छ । पराजित लाजियो २१ अंक जोडेर आठौं स्थानमा रहेको छ । अपराजित रहेको मिलानले १४ खेलमा १० जित र ४ बराबरीको नतिजा निकालेको छ ।

अन्य खेलहरुमा भने इन्टर मिलनले भेरोनालाई २-१ ले हराउदा नापोलीले टोरिनोसँग १-१ को बराबरी खेलेको छ ।

Click to comment

Trending