Headline

कास्कीलाई प्रधानमन्त्री कप गण्डकी प्रदेश छनोटको उपाधि

Published

on

ओपनर अर्जुन कुमालको महत्वपूर्ण इनिङ्गस र बिपिन खत्रीको अल राउण्ड प्रदर्शनको मद्दतमा कास्कीले गण्डकी प्रधानमन्त्री कप गण्डकी प्रदेश छनोट प्रतियोगिताको फाइनलमा नवलपुरलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको कास्कीले ५० ओभरमा ७ विकेट गुमाउदै २ सय १ रन बनायो । जवाफमा नवलपुर ३१ ओभरमै १ सय १५ रनमा अल आउट भएको थियो । नवलपुरलाई सस्तैमा समेट्ने क्रममा बिपिन र दिपेश खत्रीले ३–२ विकेट लिएका थिए ।

दोश्रो विकेटका लागि ओपनर राहुल शर्मा र हिमाल परियार (१६) ले ४७ रनको साझेदारी गरेपनि नवलपुरले लगातार विकेट गुमाएको थियो । भेटेरान खेलाडी दिपेशले नै दुई जनाको पार्टनरशीपलाई ब्रेक गरेका थिए । राहुलले नवलपुरका लागि सर्वाधिक ३२ रन बनाए ।

उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सात नम्बरका ब्याट्स्म्यान सन्देश बस्नेतले नटआउट रहदै ४९ बलमा तीन चौकाको मद्दतमा २९ रन बनाए । प्रतियोगिता अवधिभर कुल ७ विकेट लिएका दिपेशले ६ ओभरमा मात्र ८ रन खर्चेका थिए भने बिपिनले ८ ओभरमा २९ रन दिएका थिए ।

यस्तै सुवास भण्डारीले पनि ७ ओभरमा १४ रन खर्चदै दुई विकेट लिएका थिए । ८ विकेटका साथ सुवास प्रतियोगिताको उत्कृष्ट बलर भए ।

कास्कीलाई बिजयी योगफलतर्फ डोर्याउने काम प्रतियोगिताकै उत्कृष्ट ब्याट्स्म्यान घोषित अर्जुनले गरेका थिए । ५७ रनमै चार विकेट गुमाएको कास्कीलाई अर्जुनले सुवाससँग पाचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए भने बिपिनसँग छैटौं विकेटका लागि ४६ रन जोडे ।

उनको १ सय २७ बलको धैर्यतपूर्ण इनिङ्गसमा १० चौका सामेल थियो । प्रतियोगितामा ब्याटिङ्गबाट पनि राम्रो योगदान गर्दै म्यान अफ द सिरिज घोषित सुवासले फाइनलमा ७५ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए । बिपिनले २३ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ३० रन जोडे । बिशल पौडेलले नवलपुरका लागि दुई विकेट लिएका थिए ।

Click to comment

Trending