Headline

म्यानचेस्टर युनाइटेड जान नसकेपछि बायर्न गएका थिए लेवान्डोस्की

Published

on

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवानडोस्कीले एक समय इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जानका लागि पहल गरेको खुलाशा गरेका छन् ।

लेवानडोस्कीले सन् २०१२ मा म्यानचेस्टरमा आबद्ध हुनका लागि तत्कालीन प्रशिक्षक सर एलेक्स फर्गुसनसँग कुरा गरेको पनि जनाएका छन् । पोल्याण्डका लेवानडोस्कीले बोरुसिया डर्टमण्डमा हुँदा ओल्ड ट्राफोर्डमा खेल्ने इच्छा स्वरुप इङ्गल्यान्ड जान खोजेको बताएका हुन् । डर्टमण्डमा हुँदा उनले चार उपाधि हात परेका थिए ।

तर जब उनको म्यानचेस्टरबाट खेल्ने इच्छा पुरा हुन सकेन तब उनले सन् २०१४ मा फ्रि ट्रान्सफर मार्फत डर्टमण्डका चिरप्रतिद्वन्दी बायर्न रोजेका थिए । उनले बायर्नको लागि ३०७ खेल खेल्दै २६६ गोल गरिसकेका छन् ।

गत सिजन बायर्नले बुन्डेसलिगा, डिएफबी–पोकाल र च्याम्पियन्स लिगको ट्रेबल जित्दा लेवानडोस्की आफ्नो क्लबको लागि सर्वाधिक गोलकर्ता समेत रहेका थिए । उनले गरेको प्रदर्शनको लागि फिफाले उनलाई उत्कृष्ट खेलाडी समेत घोषणा गरेको थियो ।

फ्रान्स फुटबललाई दिएको एक अन्तर्वार्तामा लेवनडोस्कीले भनेः “डर्टमण्डमा दोश्रो सिजन बिताए पछि मैलें फर्गुसनसँग कुरा गरेको थिए । म म्यानचेस्टर जान चाहन्थें । म निकै इच्छुक र लालायित थिए । म यसका लागि तयार पनि थिए । तर डर्टमण्डले मलाई म्यानचेस्टर जान दिएन । तर पनि यसले मलाई निराश भने बनाएन किनकी मैले यहाँ पनि राम्रो नै गरिरहेको थिए ।”

उक्त सिजन फर्गुसनले लेवानडोस्की म्यानचेस्टर आउन नसक्ने भए पछि सन् २०१२–१३ सिजन अघि रोबिन भान पर्सीलाई आर्सनलबाट म्यानचेस्टरमा भित्र्याएका थिए । उक्त सिजन फर्गुसनको अन्तिम सिजन थियो र सो सिजन म्यानचेस्टरले प्रिमियर लिगको उपाधि पनि चुमेको थियो ।

३२ बर्षिय लेवानडोस्कीले बायर्नमा ६ वटा बुन्डेसलिगा जितेका छन् ।

Click to comment

Trending