Headline

म्याकटोमिनेले पहिलो तीन मिनेटमा दुई गोल गर्दा युनाइटेड ठूलो जितका साथ प्रिमियर लिगको तेश्रो स्थानमा

Published

on

स्कट म्याकटोमिने प्रिमियर लिग इतिहासको पहिलो तीन मिनेटमै दुई गोल गर्ने पहिलो खेलाडी बन्दा म्यानचेस्टर युनाइटेड खराब शुरुवातलाई पछाडी छोड्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।

आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले म्याकटोमिने र ब्रुनो फर्नान्डेसको दुई–दुई गोलसँगै ड्यानियल जेम्स र भिक्टर लिन्डेलफको गोलमा लिड्स युनाइटेडलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्यो ।

६७ औं सेकेण्डमै म्याकटोमिनेले सशक्त प्रहार गर्दै युनाइटेडलाई अग्रता दिलाए र त्यसको केही सेकेण्डमै एन्थोनी मार्सियलको पासमा दोश्रो गोल गरे । फर्नान्डेस र लिन्डेलफले गोल गरेपछि युनाइटेड ३७ मिनेटमै ४–० ले अघि बढेको थियो । लियम कुमरले हेडरमार्फत लिड्सको पहिलो गोल गरेपछि पहिलो हाफ अघि नै खेलमा पाँच गोल भएको थियो ।

जेम्सले ६६ औं मिनेटमा युनाइटेडको पाचौं गोल गरे भने फर्नान्डेसले चार मिनेटपछि पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । स्टुवर्ट डालासले ७३ औं मिनेटमा लिड्सका लागि सान्त्वना गोल गरे ।  युनाइटेडको एभर्टनसँगै २६ अंक रहेको छ तर उ गोल अन्तरको आधारमा तेश्रो स्थानमा रहेको छ । लिभरपुल ३१ अंकसाथ शिर्ष स्थानमा रहेको छ ।

आइतबार नै भएको खेलमा लेस्टर सिटी टोटेन्ह्याम हट्स्परलाई २–० ले हराउदै दोश्रो स्थानमा उक्लन सफल भयो । लेस्टरको जितमा जेमी भाडीले पेनाल्टीमार्फत गोल गरेका थिए भने टोबी एल्डरवेरेल्डले आत्मघाती गोल गरेका थिए ।

लेस्टरको २७ अंक छ भने युनाइटेडको जितपछि टोटेन्ह्याम पाचौं स्थानमा झरेको छ । अर्को खेलमा एस्टन भिल्लाले वेस्ट ब्रोमिविच आल्बियनमाथि ३–० को सहज जित हात पार्यो । ब्राइटनसँग १–१ को बराबरी खेल्दै सेफिल्ड युनाइटेडले सिजनको दोश्रो अंक बटुल्यो ।

Click to comment

Trending