Headline

१० फुटबलर जसले बार्सिलोना जान मानेनन्

Published

on

स्पेनिस फुटबलको मात्र नभएर विश्व फुटबलकै महारथी क्लब हो बार्सिलोना । धेरै खेलाडीहरुको सपना हुन्छ बार्सिलोनाको जर्सी लगाएर क्लब फुटबल खेल्ने । तर यस्ता खेलाडी पनि छन् जसले बार्सिलोनाले आफ्नो क्लबमा भित्र्याउन खोज्दा पनि जान मानेन् । को–को छन् त ती नाम चलेका खेलाडीहरु

१०. विलियन

२०१७ मा जब नेमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्माइनमा आबद्ध भए उनको स्थानमा बार्सिलोनाले सन् २०१८ सिजनको लागि अर्का ब्राजिलियन विंगर विलियनलाई भित्र्याउने इच्छा गर्यो । तर क्याटलन क्लबको प्रस्ताब प्रिमियर लिग क्लब चेल्सी र विलियन दुबैले अस्विकार गरे ।

९. भिनिसियस जुनियर

२०१७ मा ब्राजिलका विंगर भिनिसियस जुनियरलाई बार्सिलोना र रियल म्याड्रिड दुबै क्लबले आफ्नो क्लबमा आबद्ध हुन प्रस्ताब राखे । तर उनले बार्साको प्रस्ताबलाई नकारे । भिनिसियसले एक अन्तर्वार्ताका क्रममा उनले बार्सा नरोजेर रियल रोज्नुको कारण आफ्नो हृदयको कुरा सुनेको प्रतिक्रिया दिएका थिए ।

८. रियो फर्डिनान्ड

बार्सिलोना आफ्नो डिफेन्स उत्कृष्ट बनाउन चाहन्थ्यो । त्यसका लागि उसको लक्ष्य थियो रियो फर्डिनान्डलाई आबद्ध गर्ने । तर फर्डिनान्ड म्यानचेस्टर युनाईटेड गएर उपाधि चुम्न चाहन्थे । सन् २००२ मा म्यानचेस्टरमा आबद्ध भएका इंग्ल्यान्ड डिफेन्डर फर्डिनान्डले १२ बर्षे बसाईमा १२ उपाधि हात पार्न सफल रहे ।

७. आलेसान्द्रो डेल पिएरो

जब इटालीका फरवार्ड आलेसान्द्रो डेल पिएरो आफ्नो खेल जीवनको उत्कृष्ट लयमा थिए तब उनलाई आफ्नो क्लबमा आबद्ध गर्न म्यानचेस्टर युनाईटेड र बार्सिलोना दुबै कटिबद्ध थिए । तर उनी युभेन्टसको यति सम्म भक्त थिए कि उनले क्लब छोड्ने सोच्न सम्म पनि सक्दैन थिए । सन् १९९३ देखि २०१२ सम्म डेल पिएरोले १५ बर्ष युभेन्टसमै बिताए ।

६. डेभिड लुइज

ब्राजिलका सेन्टर ब्याक डेभिड लुइजलाई २०१३ मा बार्सिलोनाले आफ्नो क्लबमा भित्र्याउने लक्ष्य राख्यो । त्यसका लागि बर्साले नेमार र ड्यानी आल्वेसलाई लुइजलाई मनाउन जिम्मा पनि दियो । तर लुइजको रोजाई थियो चेल्सी र लन्डन ।

५. थियागो सिल्भा

ब्राजिलका पुर्व कप्तान तथा डिफेन्डर थियागो सिल्भाले एक पटक होइन दुई–दुई पटक बार्सिलोनाको आफ्नो क्लबमा आबद्ध गर्ने प्रस्ताब अस्विकार गरिदिए । उनले २०१२ मा पेरिस सेन्ट जर्माइन रोजे र टोलीको कप्तानी पनि गरे ।

४. करिम बेन्जेमा

२००९ मा पुरै युरोप फ्रान्सका फर्वार्ड करिम बेन्जेमाको पछि लागेको थियो । उनलाई आबद्ध गर्न एक– से–एक क्लबहरु लागि परेका थिए । म्यानचेस्टर युनाईटेड, इन्टर मिलान, बायर्न म्युनिख बाहेक बार्सिलोना पनि बेन्जेमा आफ्नो क्लबमा आबद्ध गराउन प्रयासरत रहेका थिए ।  तर बेन्जेमाको दिमागमा एउटा मात्र क्लब रहेको थियो र त्यो थियो रियल म्याड्रिड । उनले अन्य क्लबको आशामा तुषारापात गर्दै रियलसँग आबद्ध भए । रियल अहिले संक्रमणकाल अवस्थामा रहे पनि बेन्जेमा स्टार खेलाडीकै रुपमा छन् ।

३. जियानलुईजी बुफोन

सन् २००१ मा इटालीका गोलकिपर जियानलुईजी बुफोन बार्सिलोनामा आबद्ध हुने नजिक थिए । तर उनले जब यो कुरा आफ्नो बाबुलाई सुनाए तब उनका बाबुले उनलाई बार्सिलोना जानबाट रोक लगाए । बुफोनले पनि बाबुको कुरा माने र बार्सिलोनाको सट्टा युभेन्ट्स रोजे ।

२. डेभिड बेकह्याम

सन् २००३ मा इंग्ल्यान्डका कप्तान डेभिड बेकह्यामको ट्रान्सफरका लागि बार्सिलोना र म्यानचेस्टर सहमती खोज्दै थिए। तर बेकह्यामले म्यानचेस्टर छाड्नै पर्ने हो भने आफु रियल बाहेक अन्यत्र नजाने अडान राखे । बेकह्यामको अडान पछि म्यानचेस्टरले बार्सिलोनासँगको बार्ता भंग गर्यो र उनी रियलमा आबद्ध भए ।

१. क्रिष्चियानो रोनाल्डो

सन् २००८ मा क्रिष्चियानो रोनाल्डोले इङ्गलिस क्लब म्यानचेस्टर युनाईटेड छाडेर अन्य क्लब जाने चर्चा सुरु भयो । रोनाल्डोको रोजाईका क्लबहरुमा अग्रपंक्तीमा थियो रियल । म्यानचेस्टरका तत्कालीन प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोलाई रियल जानबाट रोक्नका लागि हर सम्भब प्रयास गरे ।

बार्सिलोनाले पनि रोनाल्डोलाई आफ्नो क्लबमा भित्र्याउन प्रयास गर्यो । भनिन्छ उक्त समय फर्गुसनले पनि रोनाल्डोलाई बार्सिलोनामा नै आबद्ध गराउन चाहन्थे । तर सन् २००३ मा म्यानचेस्टर आएका पोर्चुगीज रोनाल्डोले २००९ सिजनका लागि रियलमा अबद्ध भए ।

Click to comment

Trending