Headline

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस बराबरीमा रोकियो

Published

on

क्रिष्चियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा युभेन्टस इटालियन सिरी आ मा एट्लान्टासँग १–१ को बराबरीमा रोकिएको छ ।

बुधबार टुरिनमा भएको घरेलु मैदानमै बराबरी खेलेपछि डिफेन्डिङ्ग च्याम्पियन युभेन्टस अंक तालिकाको शिर्ष स्थानमा दवाब बनाउन चुकेको छ । १२ औं खेलमा युभेन्टसको यो छैटौं बराबरी हो भने उ शिर्ष स्थानको एसि मिलानभन्दा चार अंकले पछि परेको छ ।

युभेन्टसले अंक गुमाउदा एसि मिलान पनि बुधबार नै भएको खेलमा जेनोआसँग २–२ गोलको बराबरी रोकियो । मिलानलाई बराबरीमा रोक्ने क्रममा दुवै गोल माटिया डेस्ट्रोले गरेका थिए । मिलानका लागि डेभिड कालाब्रिया र पिएरे कलुलुले एक–एक गोल गरेका थिए । हारको नजिक पुगेको मिलानलाई कलुलुले ८३ औं मिनेटमा गोल गर्दै जोगाएका थिए ।

टुरिनमा फेडेरिको चिएसाले २९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा रेमो फ्रुलरले गोल गर्दै एट्लान्टालाई खेलमा फर्काए । ६० औं मिनेटमा चिएसालाई डि बक्समा लडाएपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।

तर रोनाल्डोको फितलो प्रहारलाई एट्लान्टा गोलकिपर पेरलुईजी गोलिनीले सजिलै बचाएका थिए । रोनाल्डो र मिलान स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको सिरी आ मा समान १० गोल रहेको छ । गोलिनीले अल्भारो मोराटाको दुई प्रहारलाई पनि बचाउदै एट्लान्टाको बराबरीमा प्रमुख भुमिका निभाएका थिए ।

मिलानको बराबरीले फाइदा भने इन्टर मिलानलाई पुगेको थियो । बुधबार इन्टर नापोलीलाई १–० ले हराउदै २७ अंकका साथ मिलानसँग मात्र एक अंकले पछाडी परेको छ । युभेन्टसको २४ र नापोलीको २३ अंक रहेको छ । इन्टरको जितमा रोमेलु लुकाकुले पेनाल्टी मार्फत ६३ औं मिनेटमा गोल गरेका थिए ।

Click to comment

Trending