अन्तर्राष्ट्रिय

निकोल्सको शतकमा सम्हालियो न्युजिल्यान्ड

Published

on

हेनरी निकोल्सले शतक प्रहार गरे पछि राम्रो सुरुवात गर्न नसकेको न्युजिल्यान्डले दोश्रो टेस्टको पहिलो दिन आफ्नो पकडमा राख्न सफल भएको छ। न्युजिल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा ८४ ओभर खेल्दै छ विकेटको नोक्सानीमा २९४ रन बनाएको छ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले एक सय ४८ रनको अवस्थामा आफ्नो महत्वपूर्ण चार विकेट गुमायो। उसका ओपनरद्वय टम ब्लनडेन १४ तथा कप्तान टम लाथम २७, रस टेलर नौं र विल योङ ४३ रन बनाएर आउट भए।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका निकोल्सले २०७ बलको सामना गर्दै १५ चौका र एक छक्काको मद्धतमा ११७ रन बनाएर अविजित रहेका छन्। ३५औं खेलमा उनको यो छैठौं टेस्ट शतक हो। एक समय ७८ रनमा तीन विकेट गुमाएको न्युजिल्यान्डको पारी सम्हाल्ने क्रममा निकोल्सले चौथों विकेटका लागि योङसँग ७०, पाँचौं विकेटका लागि बिजे वाट्लिङ (५१ बलमा ३० रन) सँग ५५ तथा छैठौं विकेटका लागि ड़याल मिचेल (६८ बलमा ४२ रन) सँग ८३ रनको साझेदारी गरे।

वेस्ट इण्डिजका शानन ग्याब्रियलले सर्वाधिक तीन तथा कियमार होल्डरले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए।

दुई खेलको टेस्ट शृंखलामा न्युजिल्यान्ड १-० ले अघि रहेको छ। पहिलो टेस्टमा न्युजिल्यान्डले वेस्ट इण्डिजलाई एक पारी र १३४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

Click to comment

Trending