Headline

नेपाली फुटबलमा लैंगिक बिभेदको अन्त्य, महिला र पुरुष खेलाडीको तलब एक समान

Published

on

विश्व फुटबलमा महिला र पुरुष फुटबल टोली बिच हुने तलब भेदभाव बारे चर्को अलोचना भैरहदा नेपाली फुटबलको सर्वोच निकाय अखिल नेपाल फुटबल संघल (एन्फा) ले भने नेपाली फुटबलमा लैंगिक बिभेदको अन्त्य गर्दै राष्ट्रिय महिला र पुरुष फुटबल खेलाडीहरुको तलब एउटै बनाएको छ ।

एन्फाले तलब एकै सरह बनाउनु साथ-साथै तलब पनि बढाएको छ । यो नेपाली खेलकुद इतिहासमै पहिलो पटक महिला र पुरुष खेलाडीको तलब एक समान भएको हो ।

बिहिबार अखिल नेपाल फुटबल संघको मुख्यालयमा बसेको कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गर्दै मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

एन्फाले पहिले १५ हजार पाउदै आएका पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुको तलब वृद्धि गर्दै १८ हजार पुर्याएको हो भने ११ हजार पाउदै आएका महिला खेलाडीको तलब ह्वातै बढाउदै १८ पुर्याएको हो । नेपाली महिला खेलाडीहरु र एन्फा पदाधिकारीहरुले पनि पहिले बाटै खेलाडीहरुको तलब समान बनाउनु पर्ने माग राख्दै आएका थिए ।

यस्तै एन्फाको कार्यसमिति बैठकले आजै गरेको निर्णय अनुरुप उपाध्यक्ष उपेन्द्रमान सिंहलाई विश्वकप छनोट खेलको संयोजकको जिम्मेवारी दिने पनि  निर्णय गरेको छ ।एएफसीले खेलहरुका लागि नयाँ मिति तोकिसक्दा नेपालले विश्वकप र एसिया कप छ्नोट अन्तर्गत घरमा तीन खेल खेल्न बाँकी रहेको छ ।

नेपाल रहेको समुहमा चाइनिज ताइपेइ,अष्ट्रेलिया,जोर्डन र कुवेत रहेका छन् । नेपालले पहिलो चरणका सबै र दोस्रो चरणको पहिलो खेलमा कुवेतको सामना गरिसकेको छ । दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending