Headline

के मेस्सी र रोनाल्डो अन्तिम पटक आमने–सामने हुदै छन् ?

Published

on

लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोको प्रतिद्वन्दिताले फुटबललाई जकडेको एक दशक भन्दा बढी भइसकेको छ । मङ्गलवार च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको अन्तिम खेलमा बार्सिलोना र युभेन्टस खेल्दा यो अध्यायले सम्भवत बिट मार्न सक्नेछ ।

मेस्सी र रोनाल्डो मैदानमा अन्तिम पटक आमने–सामने हुन सक्नेछन् ।

२००८ देखि २०१७ सम्मको बिश्वको प्रतिष्ठित व्यक्तिगत फुटबल पुरस्कारमा एक आपसले हक जमाएका यी दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल म्याड्रिडका हस्तीको रुपमा रहे । रोनाल्डोले २०१८ मा रियल छोड्दै युभेन्टस जाने निर्णय गरेपछि यी दुईको प्रतिद्वन्दितामा पनि परिवर्तन आइसकेको छ ।

२००९ मा प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेडबाट रियल आएपछि स्पेनिस फुटबलको सबैभन्दा ठूलो खेल एल क्लासिको रोनाल्डो–मेस्सी प्रतिद्वन्दिताको पर्यायवाची जस्तै हुन पुग्यो । रोनाल्डोले स्पेनिस लिग छोडेपछि एल क्लासिकोको रँग फिक्का भएको छ भने फुटबल समर्थकहरु कहिले यी दुईको भिडन्त हेर्न आतुर भएर बस्ने गरेका छन् ।

यो आशाको व्यग्रतालाई च्याम्पियन्स लिगको पहिलो खेलले मत्थर बनायो । समुह जि अन्तर्गत टुरिनमा भएको पहिलो लेगमा रोनाल्डो कोरोना संक्रमणका कारण खेल्न नसक्ने भएपछि बार्साले युभेन्टसलाई सहजै २–० ले हरायो । त्यसमा मेस्सीले पेनाल्टीमा गोल गरेका थिए ।

युभेन्टस र बार्सा फेरि भेट्दैछन् तर दुवै टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेका कारण खेलमा त्यो तनाव नहुन पनि सक्छ । युभेन्टसले तीन वा त्यो भन्दा बढी गोल अन्तरले जित्ने हो भने समुहको अंक तालिकामा बार्साभन्दा माथि रहदै बिजेताको रुपमा छनोट हुनेछ ।

३५ बर्षिय रोनाल्डो र ३३ बर्षिय मेस्सी आफ्नो करिअरको अन्त्यतिर छन् र दुवैको एलिट स्टेटस अझै कायम नै छ । ६ पटकका बालोन डि ओर बिजेता मेस्सी २०१९ को बिजेता हुन् भने गत बर्ष तेश्रो स्थानमा सिमित भएका रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

रोनाल्डोमा अझै पनि भोक छ

रोनाल्डो इटालीमा अझै पनि त्यही जोशका साथ खेलिरहेका छन् । उनी युभेन्टसका प्रमुख खेलाडी नै हुन् भने शनिबारमात्रै टोरिनोलाई २–१ ले हराउनु अघि खेलमा क्लबले उनलाई ७ सय ५० गोल गरेको शर्ट दिदै सम्मान दिएको थियो ।

“रोनाल्डो मानसिक रुपले निकै सशक्त छन्,” रोनाल्डोको पहिलो सिजनमा युभेन्टसका प्रशिक्षक रहेका मासिमिलियानो एलेग्रीले टाइम्सलाई भने । “रोनाल्डोको टाउको अन्य खेलाडीभन्दा फरक छ । पाँच बालोन डि ओर, पाँच च्याम्पियन्स लिग र एक युरोपिय प्रतियोगिता जित्न गाह्रो छ । र यो सबैमा उनले नै प्रभाव पार्ने गरेका छन् । हरेक बर्ष उनको उद्देश्य नयाँ हुने गर्छ ।”

एलेग्रीलाई इटालयन सिरी आ टाइटल जिताउने क्रममा रोनाल्डोले आफ्नो डेब्यु सिजनमा २१ गोल गरेका थिए । मउरिजियो सारी प्रशिक्षक हुदा युभेन्टसले गत सिजन ३६ औं पटक उपाधि जित्ने क्रममा रोनाल्डोले ३१ गोल गरिदिए ।

यो सिजन आन्द्रे पिर्लोको प्रशिक्षणमा खेलिरहेको युभेन्टसका लागि रोनाल्डोले ६ खेलमा ८ गोल गरिसकेका छन् र उनी थामिने जस्तो देखिदैनन् । यसको ठ्याक्कै बिपरित मेस्सी स्पेनमा संघर्ष गरिरहेका छन् ।

यो सिजनको शुरुवातमा क्लब छोड्न चाहे पनि बार्साले उनलाई जान दिएन र नयाँ प्रशिक्षक रोनाल्ड कोमनको रणनीतिक योजनामा असहज देखिएका मेस्सी आफ्नो उत्कृष्ट भन्दा धेरै टाढा छन् । स्पेनिस लिगमा बार्सिलोनाले पछिल्लो ३३ बर्ष यताकै खराब प्रदर्शन गर्दै आएको छ भने मेस्सीको प्रदर्शन एक समान नहुनु धेरै समस्या मध्येको एक हो । उनले १० खेलबाट चार गोल गरेका छन् जसमध्ये दुई पेनाल्टीबाट रहेको छ ।

बार्साको जनवरीमा हुने नयाँ चुनावअघिको अस्थायी बोर्डका अध्यक्ष कार्लेस टुस्केट्सले आफूले मेस्सीलाई सिजनको शुरुवातमै बेच्ने बताए, आर्थिक दृष्टिकोणमा ।

“आर्थिक रुपमा उनले बार्सिलोना छोड्दा क्लबकै लागि राम्रो हुने थियो । उनको तलब बिश्व फुटबलमै सबैभन्दा बढी रहेको भन्दै आउदा हामीले राम्रो पैसा पाउन सक्थ्यौं,” टुस्केट्सले क्याटालुन्या रेडियोलाई भने ।

तर शनिबार यसै सिजन माथि उक्लिएको काडिजसँग २–१ ले स्तब्ध हुदा गोल गर्न नसकेका मेस्सी बार्सिलोनामै छन् र आफ्नो लामो समयदेखिका प्रतिद्वन्दी रोनाल्डोबिरुद्ध उत्रने तथ्यले उनलाई हौस्याउन सक्छ ।

रोनाल्डो स्पेनमा हुदा उनले र मेस्सीले बिश्व फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत प्रतिद्वन्दितालाई आफ्नो बलबुतामा निकै बिशाल उचाई दिएका थिए । मङ्गलवार, उनीहरु फेरि भिड्दैछन्, शायद अन्तिम पटक ।

Click to comment

Trending