Headline

आर्सनललाई हराएपछि स्पर्स उपाधि दाबेदारीतामा परिपक्व बनेको माउरिन्होको दाबी

Published

on

ह्यारी केन र सन हिउङ–मिनले उत्कृष्ट प्रदर्शन गर्दै आर्सनललाई नर्थ लन्डन डर्बीमा २–० ले पराजित गरेपछि टोटन्ह्याम हटस्पर व्यवस्थापक हाजे माउरिन्होले आफ्नो टोली इङ्गलिस प्रिमियर लिगको उपाधि दाबेदारको रुपमा परिपक्व हुदै गएको दाबी गरेका छन् ।

घरेलु मैदानमा ९ महिनापछि दर्शकहरुलाई स्वागत गरेको टोटन्ह्यामका लागि आफ्ना दुई महत्वपूर्ण खेलाडी सन र केनले गोल गर्दै क्लबलाई एक पटक फेरि शिर्ष स्थानमा पुर्याएका थिए । लिभरपुलसँगै समान २४ अंक रहेको टोटेन्ह्याम गोल अन्तरले अंक तालिकामा पहिलो स्थानमा रहेको छ ।

खेलमा सनले १३ औं मिनेटमै स्पर्सलाई अग्रता दिलाएका थिए भने केनले पहिलो हाफमै थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए । दुवै गोलमा उनीहरुले एक अर्कालाई असिस्ट गरेका थिए ।

स्पर्स पछिल्लो १० लिग खेलमा अपराजित रहेको छ भने यस क्रममा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल जस्ता कठिन क्लबबिरुद्ध ७ अंक बटुलेको छ । हामी एक हिसाबले हुर्किएको छौं, माउरिन्होले आइतबारको खेलपछि भने ।

धेरैलाई हामीले सिटी, चेल्सी र आर्सनलबिरुद्धको लगातार तीन खेलमा अंक गुमाउदै आफ्नो सामान्यमा फर्किने अपेक्षा गरेका थिए तर त्यो भएन । हामी अब माथिल्लो स्थानमा कायमै रहने टिम बनिसकेको छौं, उनले भने ।

पछिल्लो ६० बर्षमा पहिलो पटक प्रिमियर लिगको उपाधि जित्नका लागि स्पर्सका लागि केन र सन भने पूर्ण रुपमा फिट रहदै अहिलेको खेललाई कायमै राख्न आवश्यक देखिन्छ । दुवै खेलाडीले संयुक्त रुपमा क्लबका लागि २७ गोल गरिसकेका छन् ।

सनले यो सिजन लिगमा गरेको १३ मध्ये १० गोलमा केनले नै असिस्ट गरेका छन् । आर्सनलले ११ लिग खेलमा १० गोल गरेको छ । आइतबार आर्सनलले केही राम्रा मुभहरु बनाएपनि फिनिसिङ गर्न भने असफल रहेको थियो ।

पछिल्लो सात खेलमा पाचौं पराजय व्यहोर्न पुग्दा आर्सनल १५ औं स्थानमा झरेको छ । गएराति नै भएको अन्य खेलमा क्रिष्टल प्यालेसले वेष्टब्रोमलाई ५–० ले हरायो भने लेस्टर सिटी सेफिल्ड युनाइटेडलाई २–१ ले हराउदै २१ अंकका साथ चौथो स्थानमा कायम रह्यो । तेश्रो स्थानमा धकेलिएको चेल्सीको २२ अंक रहेको छ ।

Click to comment

Trending