Headline

हार्दिक पाण्ड्याको उत्कृष्ट ट्वान्टी ट्वान्टी इनिङ्गस, भारतले अष्ट्रेलियालाई फेरि हरायो

Published

on

हार्दिक पाण्ड्या एक पटक फेरि चम्किएपछि भारत अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै तीन म्याचको ट्वान्टी ट्वान्टी श्रृंखला कब्जा गरेको छ ।

सिड्नीमा टस जिति पहिलो बलिङ्ग गरेपनि भारतले अष्ट्रेलियालाई २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ९४ रन बनाउन दिएको थियो । पाण्ड्याले उत्कृष्ट फिनिसिङ्ग गर्दै अन्तिम ओभरमा दुई छक्का प्रहार गरेपछि भारतले रोमाञ्चक जित हात पार्यो ।

अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा पाण्ड्याले ड्यानियल स्याम्सको पहिलो बलमा दुई रन प्रहार गरे भने दोश्रो बल डट रहेको थियो । तेश्रो र चौथो बलमा लगातार दुई छक्का प्रहार गर्दै पाण्ड्याले अविस्मरणीय ब्याटिङ्ग गरेका थिए । पाचौं विकेटका लागि श्रेयस ऐयर (१२) सँग ४६ रन जोडेका पाण्ड्याले २२ बलमा २२ रन बनाए । उनको इनिङ्गसमा तीन चौका पनि सामेल थियो ।

एकै किसिमको शुरुवात गर्ने क्रममा भारतले पहिलो पाँच ओभरमै विकेट नगुमाई ५६ रन बनाएको थियो । पहिलो दुई ओभरमा अष्ट्रेलियाले कसिलो बलिङ्ग गर्दै ९ रनमात्र दिएपनि एन्ड्रयु टाइको नोबलबाट आएको फ्रि हिटमा राहुलले छक्का प्रहार गरेपछि भारतले गति बटुलेको थियो ।

टाइले तेश्रो ओभरमा १५ रन दिए भने ग्लेन म्याक्सवेलको पहिलो र अष्ट्रेलियनाको चौथो ओभरमा भारतले १९ रन बटुल्यो । पाचौं ओभरमा सन अबोटले १२ रन खर्चिए । तर टाइले छैटौं ओभरको दोश्रो बलमा राहुललाई आउट गरेपछि अष्ट्रेलियाले राहतको सास फेरेको थियो । राहुलले २२ बलमा ३० रन बनाए ।

राहुल आउट भएपछि धवनले कप्तान बिराट कोहलीसँग ३९ रनको साझेदारी गरेका थिए । धवनले ३६ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाउदा एडम जाम्पाको बलमा पेभिलियन फर्किएका थिए । भारतको इनिङ्गस सम्हालेर बसेका कोहली १७ औं ओभरको पहिलो बलमा ड्यानियस स्याम्सलाई ठूलो शट प्रहार गर्ने क्रममा निकै वाइड बलमा आउट भएका थिए ।

कोहलीले २४ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ४० रन बनाए । कोहली आउट हुदा भारतलाई अन्तिम २३ बलमा ४६ रनको आवश्यकता रहेको थियो ।

यसअघि नियमित कप्तान आरोन फिन्चको स्थान लिएका म्याथ्यु वेडको अद्र्धशतकसँगै अन्य तीन ब्याट्स्म्यानको उल्लेखनीय योगदानमा अष्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ९४ रन बनायो । निकै छरितो रुपमा रन बटुल्दै वेडले पहिलो विकेटका लागि डार्सि शर्ट (९) सँग पाँच ओभरभित्रै ४७ रन बटुलेका थिए । शर्टको विकेट पतनपछि स्मिथसँग २८ रन जोड्दा वेडले ३२ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए ।

वासिँगटन सुन्दरको बलमा उनको सहज क्याच कप्तान बिराट कोहलीले छोडेपनि स्मिथसँग तालमेल नमिल्दा वेड रनआउट भएका थिए । त्यसपछि स्मिथले ग्लेन म्याक्सवेल (२२) सँग ४५ रन जोडे भने मोइजेज हेन्रिकेस (१८) सँग ४७ । चाहलको बलमा हार्दिक पाण्ड्याको बलमा क्याच आउट हुनु अघि स्मिथले ३८ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाए ।

दिपक चाहरको अन्तिम ओभरमा १७ रन बनाएपछि घरेलु टोली २ सय रनको योगफल नजिक पुगेको थियो । अष्ट्रेलियाले अझै बढी रन बनाउने थियो तर टि नटराजनले एक पटक फेरि उत्कृष्ट बलिङ्ग गरेका थिए । पहिलो ट्वान्टी ट्वान्टीमा पनि उत्कृष्ट डेब्यु गर्दै तीन विकेट लिएका बाया हाते सिमर नटराजनले आइतबार १९ रनमात्र खर्चदै दुई विकेट लिएका थिए ।

Click to comment

Trending