Headline

प्रिमियर लिग: नर्थ लन्डन डर्बीमा टोटनह्यामको सामना गर्दै आर्सनल, वुल्भ्स र लिभरपुल भिड्दै

Published

on

प्रिमियर लिगमा आज सिजनको पहिलो नर्थ लन्डन डर्बीमा आर्सनलले टोटनह्यामको सामना गर्दै छ ।

टोटनह्यामको घरेलु रङ्गशालामा हुने खेलमा दुई हजार दर्शकले प्रवेश गर्ने अनुमती पाउने छन् । प्रिमियर लिगको सबै भन्दा ठुलो डर्बी मानिने यो खेलमा टोटनह्यामले जित हात पारेमा अंक तालिकाको शिर्ष स्थानमा उक्लिने छ ।

कोरोना भाईरस पछि पहिलो पटक दर्शकले रङ्गशाला छिर्ने अनुमती पाएको बेला टोटनह्यामले आफ्नो दर्शकलाई निराश नबनाउने पनि प्रशिक्षक जोसे मोउरिन्होले बताइसकेका छन् ।

आफ्नो नयाँ रङ्गशालामा आर्सनलसँग एक खेल पनि नहारेको टोटनह्यामलाई आजको खेल निकै महत्वपूर्ण रहने छ । प्रिमियर लिगका पछिल्ला १० खेलमा एकमा मात्र पराजित रहेको टोटनह्यामलाई आजको खेल जित्दै नयाँ किर्तिमान बनाउने अवसर पनि हुने छ । टोटनह्याम आफ्नो घरमा अन्तिम पटक २०१४ मा आर्सनलसँग १-० ले पराजित भए यता एक खेल पनि पराजित भएको छैन ।

यो सिजन राम्रो लय समाउन नसकेको आर्सनल अंक तालिकामा १४ औँ स्थानमा रहेको छ भने २०१४ पछि कै उत्कृष्ट लयमा रहेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ ।

गएको साता चेल्सीसँग बराबरी खेल्ने क्रममा सामान्य चोट लागेका ह्यारी केनले यो खेल खेल्न सक्ने छन् । आर्सनलका लागि मुख्य डिफेन्डर डेभिड लुइज अघिल्लो साता वुल्भ्ससँग भएको खेलमा टाउकोमा चोट लागेका कारण नखेल्ने सम्भावना रहेको छ ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

यस्तै आज हुने मध्यरातको खेलमा साविक बिजेता लिभरपुलले वुल्भ्सको सामना गर्दै छ । आफ्नो खेलाडीहरुलाई लगातार चोटका कारण गुमाइरहेको लिभरपुललाई वुल्भ्सको ठुलो चुनौती हुनेछ ।

प्रिमियर लिगको अघिल्लो खेलमा ब्राइटनसँग १-१ को बराबरीमा रोकिएसँगै भिएआरको बिषयमा बोल्नुका साथै पाँच खेलाडी सब्स्टिच्युट हुनु पर्ने नियाम ल्याउनु पर्ने माग गरिरहेका लिभरपुलका प्रशिक्षक क्लोपलाई यो खेलमा निकै दवाब हुने छ ।

हाल तेस्रो स्थानमा रहेको लिभरपुलले यो खेलमा जित हात पार्ने र आर्सनलले टोटनह्यामलाई हराउने हो भने शिर्ष स्थानमा उक्लिने छ ।

लिभरपुलका लागि र्जिल भान डाइक, जो गोमेज, एलेक्स अक्स्लेड च्याम्बरलिन, थियागो अल्कान्टरा, नाबी केइटा, शेर्धन साकीरी, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड र जेम्स मिल्नरले वुल्भससँगको खेल नखेल्ने प्रवल सम्भावना रहेको छ ।

वुल्भ्सका लागि भने कप्तान राउल जिमिनेजले आर्सनलसँगको खेलमा लागेको टाउकोको चोटका कारण यो खेल गुमाउने छन् । यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै आज साँझ हुने ५:४५ बजेको खेलमा वेष्ट ब्रोमले क्रिस्टल प्यालेसको सामना गर्दा ८:०० बजेको खेलमा भने लेस्टर सिटीले सेफिल्ड युनाइटेड विरुद्ध खेल्ने छ ।

Click to comment

Trending