Headline

शतकीय साझेदारीले पनि टरेन वेष्ट इण्डिजको फराकिलो हार

Published

on

न्युजिल्याण्डले वेष्ट इण्डिजलाई पहिलो टेस्टमा एक इनिङ्गस १३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

ह्यामिल्टनमा चौथो दिन १ सय ९६ रनमा ६ विकेटको स्थितिबाट खेल्न शुरु गरेको वेष्ट इण्डिज आफ्नो दोश्रो इनिङ्गसमा २ सय ४७ रनमा अल आउट हुन पुग्यो । अघिल्लो दिन ८० रन बनाएका जर्माइन ब्ल्याकउड १ सय ४ र ५९ रन बनाएका अल्जारी जोसेफ ८६ रनमा आउट भएका थिए ।

न्युजिल्याण्डले पहिलो इनिङ्गसमा केन विलियम्सनको २ सय ५१ रन बनाएपछि वेष्ट इण्डिज १ सय ३६ रनमै अल आउट भएको थियो । तेश्रो दिन नै आफ्नो दोश्रो इनिङ्गसमा ८९ रनमै ६ विकेट गुमाउन पुग्दा ब्ल्याकउड र जोसेफले टेस्टलाई चौथो दिनसम्म तन्काएका थिए ।

ब्ल्याकउड र जोसेफले सातौं विकेटका लागि १ सय ५५ रनको साझेदारी गरेका थिए । काइल जेमिसनले जोसेफको विकेट लिने बित्तिकै वेष्ट इण्डिजले अन्तिम चार विकेट तीन रन जोड्दा गुमाएको थियो । १ सय ४१ बलको सामना गरेका ब्ल्याकउडले ११ चौका र दुई छक्का प्रहार गरे भने जोसेफले करिअरको उच्च स्कोर बनाउने क्रममा १ सय २५ बलमा ९ चौका र तीन छक्का हिर्काए ।

ब्ल्याकउडको यो दोश्रो टेस्ट शतक हो । न्युजिल्याण्डका लागि निल वाग्नरले चार विकेट लिए भने जेमिसनले पनि दुई विकेट लिएका थिए । कप्तान विलियम्सनले मात्र पाँच बलरको प्रयोग गर्दा सबैले विकेट पाएका थिए ।

करिअरको तेश्रो दोहोरो शतक प्रहार गर्दै न्युजिल्याण्डलाई पहिलो इनिङ्गसबाटै बलियो स्थितिमा पुर्याएका विलियम्सन म्यान अफ द म्याच घोषित भए ।

Click to comment

Trending