Headline

ला लिगा आज: म्याड्रिडको सामना गर्दै सेभिया, सातौँ स्थानको बार्सिलोना र काडिज भिड्दै

Published

on

स्पेनिस ला लिगामा आजबाट १२ औँ चरणका खेलहरु सुरु हुँदै छन् । आज हुने पहिलो खेल नेपाली समय अनुसार ६:१५ मा हुने छ भने उक्त खेलमा लिभान्टे र गेटाफे भिड्दै छन् । लिभान्टेले यो सिजन राम्रो सुरुवात गर्न सकेको छैन । सात अंकका साथ १९ औँ स्थानमा रहेको लिभान्टेले ११ औँ स्थानमा रहेको गेटाफेको समाना गर्ने छ ।

यस्तै आजै हुने अर्को खेलमा सेभियाले साविक बिजेता रियल म्याड्रिडसँग खेल्दै छ । रियल म्याड्रिड र सेभिया दुवै टोली बुधबार भएको च्याम्पियन्स लिगमा पराजित भएका थिए । सेभिया चेल्सीसँग ४-० ले पराजित भएको थियो भने शख्तार दोनेक्ससँग रियल म्याड्रिड २-० ले पराजित भएको   थियो । यस सिजन सिजन राम्रो लय समाउन नसकेको रियललाई सेभिया खेलको जित निकै महत्वपूर्ण हुन सक्ने छ ।

सेभियाको घरमा हुने खेलमा रियलका लागि एडेन हजार्डले चोटका कारण खेल गुमाउने छन् । आफ्नो पछिल्लो १५ होम खेलमा १४ मा अपराजित रहेको सेभिया अन्तिम पटक गएको सिजनको अक्टोबरमा आइबरसँग १-० ले हारेको थियो । रियल म्याड्रिडसँगको पछिल्लो खेलमा पराजित भएको सेभियाले आज को खेल जित्ने हो भने १९ अंकका साथ चौथोँ स्थानमा उक्लिने छ ।

यो खेल नेपाली समय अनुसार राती ९:०० बजे सुरु हुने छ ।

यस्तै आज हुने मध्यरातको खेलमा सातौँ स्थानमा रहेको बार्सिलोनाले काडिजको सामना गर्दै छ । यो सिजन ला लिगामा राम्रो सुरुवात गर्न नसकेको बार्सिलोना १४ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

काडिज बार्सिलोनासँग आफ्नो पछिल्लो ६ खेलमा सबैमा पराजित भएको छ । अन्तिम पटक १९९१ मा बार्सिलोनालाई ४-० ले हराएको काडिजलाई आज ईतिहास रच्ने अवसर हुने छ । गएको वुधबार च्याम्पियन्स लिगमा फेरेन्सेभारोसलाई ३-० ले पराजित गरेको बार्सिलोनाले आज काडिजलाई हराउने हो भने १७ अंकका साथ अंक तालिकाको चौथोँ स्थानमा उक्लिने छ ।

आजको खेलमा बार्सिलोनाका लागि स्टर खेलाडी लियोनल मेस्सी खेल्ने अपेक्षा गरिएको छ । खेल नेपाली समय अनुसार रातको १:४५ बजे सुरु हुने छ ।

अन्य खेलहरुमा नेपाली समय अनुसार रातको ११:२५ बजे एट्लेटिको म्याड्रिड र भल्लाडोएड भिड्दै छन् ।

Click to comment

Trending