Headline

चाहलको उत्कृष्ट प्रदर्शनपछि छेडिएको ‘कन्कुसन सब्स्टिच्युट’ बहस

Published

on

भारत र अष्ट्रेलियाबीचको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोलीको जितभन्दा पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले केही समयअघि प्रयोगमा ल्याएको नयाँ नियममा खुबै बहस रह्यो । यो नियम हो कन्कुसन सब्स्टिच्युट को जसको फाइदा शुक्रबार भारतले उठायो ।

कुनै पनि संरचनाको क्रिकेटमा खेलका दौरान यदि खेलाडीलाई बलले लागेर कन्कुसन (अस्थायी रुपमा होस हराउने, ध्यान केन्द्रित गर्न नसक्ने अथवा रिँगटा लागि रहने) भएको स्थितिमा चिकित्सकको सल्लाहपछि स्क्वाडबाट अर्को खेलाडीले उनको स्थान लिन सक्नेछन् ।

तर सब्स्टिच्युट खेलाडीको खेल्ने प्रकृति उही हुनु भने पर्ने र टिमलाई अतिरिक्त फाइदा हुन नहुने नियममा लेखिएको छ । यसको अर्थ स्पिनरलाई स्पिनरले, फास्ट बलरलाई फास्ट बलरले र ब्याट्स्म्यानलाई ब्याट्स्म्यानले मात्रै सब्स्टिच्युट गर्न सक्छन् ।

शुक्रबार भारतको इनिङ्गस सामान्य योगफलमै खुम्चिने अवस्थामा रविन्द्र जडेजाले ब्याटबाट उत्कृष्ट प्रदर्शन गर्दै २३ बलमा ४४ रन ठोक्दै भारतलाई १ सय ६१ रनको चुनौतिपूर्ण योगफलसम्म डोर्याए । जवाफमा अष्ट्रेलिया १ सय ५० रनमा रोक्कियो ।

तर जडेजा भारतले बलिङ्ग गर्दा भने थिएनन् । मिचेल स्टार्कले फालेको अन्तिम ओभरको दोश्रो बलमा उनी घाइते भएपछि दोश्रो इनिङ्गसमा उनी आएनन् । उनको स्थानमा कन्कुसन सब्स्टिच्युट लेग स्पिनर युजभेन्द्र चाहाल आए ।

अष्ट्रेलिया जवाफी ब्याटिङ्गमा जानु अघि घरेलु टोलीका प्रशिक्षक जस्टिन ल्याँगरले म्याच रेफ्रि डेभिड बुनसँग कन्कुसन सब्स्टिच्युट प्रयोग गर्न दिएकोमा आपत्ति जनाइरहेका थिए ।

स्टार्कको शर्ट बल जडेजाको ब्याटमा ऐज लाग्दै उनको हेल्मेटमा ठोक्किएको थियो भने पोइन्टमा गएको बल मोइजेज हेन्रिकेसले ड्रप गरेका थिए । त्यसपछि पनि जडेजाले खेल्दै अन्तिम तीन बलमा दुई चौका र एक सिँगल सहित ९ रन बटुलेका थिए ।

बल टाउकोमा लागेपछि पनि मेडिकल सहायता बिनै ब्याटिङ्ग गरेका खेलाडीलाई कसरी कन्कुसन सब्स्टिच्युट दिन सकिन्छ भन्ने तर्क धेरैको रहेको छ। जडेजा भारतीय टोलीका प्रमुख स्पिनर भएपनि उनी अलराउण्डर हुन् र खेलमा ह्यामस्ट्रिङ्ग इन्जुरी भएपछि उनले बलिङ्ग नगर्ने लगभग तय नै थियो ।

यस्तो स्थितिमा भारतले पूर्ण रुपमा स्पिनर मात्रै रहेका चाहललाई खेलाउदै बहस छेडिएको थियो । तर आईसिसिको नियमले स्पिन बलिङ्ग अलराउण्डरको ठाँउमा स्पिनरमात्रै खेलाउन नपाउने भनेको छैन । जडेजा स्पिनर हुन् र उनको स्थान स्पिनरले नै लिएको भन्ने देखिन्छ । यसको फाइदा भारतलाई भएको हो ।

भारततर्फ खेल पल्टाउने क्रममा चाहलले पहिलो विकेटका लागि ५६ रनको पार्टनरसिप तोड्दै कप्तान आरोन फिन्चको विकेट लिनुका साथै स्टिभन स्मिथ र म्याथ्यु वेडलाई पनि आउट गरेका थिए । चाहल नै खेलको म्यान अफ द म्याच घोषित भए ।

“कन्कुसन सब्स्टिच्युट अनौठो कुरा हो । आज यो हाम्रो पक्षमा भयो अर्को समय जडेजाले उही प्रकृतिको सब्चिच्युट खेलाडी नपाउन पनि सक्छन् । जडेजाको टाउकोको छेउमा चोट लागेको थियो र उनलाई अहले पनि चक्कर लागिरहेको छ,” भारतीय कप्तान बिराट कोहलीले खेलपछि भने ।

“फिन्चले खेलपछि व्यवसायिक रुपमै यसलाई ह्याण्डल गरेका थिए । उनीहरुले हामीलाई टिम डक्टरले जडेजा कन्कुसनले खेल्न नसक्ने भनेको बताएका थिए । त्यसैले मेडिकल एक्स्पर्टलाई चुनौति दिने कुरा भएन,” फिन्चले भने ।

Click to comment

Trending