Headline

एट्लेटिको बायर्न बराबर, आयक्स माथि लिभरपुलको जित

Published

on

साविक बिजेता बायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगमा १–१ गोलको बराबरी खेलेका छन् ।

खेलमा एट्लेटिको म्याड्रिड बायर्न माथि निकै भारी देखिएको थियो । अघिल्लो खेलमै अन्तिम १६ का लागि छनोट भएको बायर्नका लागि यो खेलमा रोबर्ट लेवानडस्की, कप्तान मानुएल नोयर, योसुवा किमिच र जेरोम बोआटिङले बिश्राम लिएका थिए ।

खेलको छैटौ मिनेट देखी नै आक्रमण गरेको एट्लेटिकोको पहिलो मुभलाई गोलरक्षक नुबेलले बचाएका थिए । शुरुवात देखि नै लगतार आक्रमण गरेको एट्लेटिकोले २६ औँ मिनेटमा अग्रता लिएको थियो । एट्लेटिकोका लागि जाओ फेलिक्सले मार्कस लोरेन्टेले दिएको राम्रो पासलाई गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा पछि परेको बायर्नले दोस्रो हाफमा भने केही लय समाएको थियो । ६१ र ६२ औं मिनेटमा बयार्नले थोमस मुलर र सर्जी नाब्रीलाई मैदान छिराए पछि बायर्नले खेलमा केही आक्रमण गर्न थालेको थियो । ८६ औँ मिनेटमा बायर्नको मिहिनेतले रङ्ग ल्यायो ।

एट्लेटिको डिफेन्डर फिलिपेले थोमस मुलरलाई डि–बक्समा लडाए पछि प्राप्त पेनाल्टीलाई मुलरले नै गोलमा परिणत गरेका थिए । हार टारेसँगै बायर्नले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

समुह ए मा रहेको बायर्न १३ अंकका साथ अघिल्लो खेलमै अन्तिम १६ को लागि छनोट भइसकेको छ । ६ अंक रहेको एट्लेटिको र ४ अंक रहेको रेड बुल साल्जबर्गको भने अर्को चरणमा पुग्नको लागि कडा प्रतिस्पर्धा हुने छ ।

यस्तै अर्को खेलमा आयाक्सलाई १–० ले पराजित गर्दै लिभरपुल अन्तिम–१६ मा पुगेको छ । एनफिल्डमा भएको खेलमा आयाक्सले तुलनात्मक रुपमा राम्रो आक्रमणहरु गरे पनि गोल भने गर्न सकेन ।

दोस्रो हाफमा भने युवा खेलाडी कर्टिस जोन्सले गोल गरे पछि लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलका लागि ५८ औँ मिनेटमा जोन्सले गोल गरेका थिए । उनले आयाक्स गोलरक्षक ओनानाले गरेको गल्तीको फाईदा उठाउदै गोल गरेका थिए ।

जितसँगै १२ अंकका साथ लिभरपुल अर्को चरण प्रवेश गरेको छ भने ८ अंकका साथ एट्लान्टा दोस्रो र ७ अंकका साथ आयाक्स तेस्रो स्थानमा छ ।

Click to comment

Trending